कथाको मर्म मर्न दिएको छैन – ‘समर लभ’ निर्देशक मुस्कान ढकाल

६ बर्ष पहिले सार्वजनिक भएको सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ले ऐतिहासिक लोकप्रियता कमायो । आजका दिनसम्म पनि पुस्तकको बिक्री वितरणमा र यसप्रति पाठकहरुको आकर्षणमा कुनै कमी आएको छैन ।

‘समर लभ’मा मुख्य पात्र अतित, साया र सुस्मिता अनि लेखक स्वयंमले निभाएको भुमिकाभित्र आफुलाई पाउने हरेक पाठकले अब भने फिल्मको पर्दामै आफुलाई भेट्न पाउँदैछन् । ‘समर लभ’को कथामाथी तयार भएको फिल्म प्रदर्शनको लागी तयार भएको छ ।

माघ २५ बाट प्रदर्शनमा आउन लागेको फिल्मका पात्रमा दर्शकले अनि उपन्यास पढ्ने पाठकले आफैलाई भेट्नसक्ने कुरा निर्देशक मुस्कान ढकालले यसअघि देखि बोल्दै आइरहेका छन् । फिल्मका सार्वजनिक प्रचार सामाग्रीहरुले फिल्म बजारमा लोकप्रियता बढाउँदो छ । फिल्मको युट्युवमा सार्वजनिक ट्रेलर १ मिलियन भ्यूजतर्फ अघि बढ्दै छ भने पुष्पन प्रधान संगीतबद्ध ‘साया’ बोलको सार्वजनिक गीत उत्तिकै मात्रामा हिट छ ।

पछिल्लो क्रममा अग्रपङ्ग्तिमा आएको सामाजिक सञ्जाल ‘टिकटक’मा हजारौँले ‘समर लभ’ फिल्मको ट्रेलरमा समावेश डायलगहरुलाई प्रयोग गरिरहेका छन् । प्रेमभाव बोल्ने डायलगहरु ‘टिकटक’मा हिट लिस्टमा छन् । जुन कुराहरुले पनि पछिल्लो पुस्ताका दर्शकमाथ फिल्मले आफुलाई ‘अवेटेड’ बनाउँदै लगेको अनि लोकप्रिता बढाएको प्रमाण देखाउँछ ।

फिल्ममा अतितको भुमिकामा आशिष पिया रहँदा सायाको भुमिकामा रेवती क्षेत्री र सुस्मिताको भुमिकामा नम्रता सापकोटा छन् भने न्यारेटर (लेखक)को भुमिकामा सुरजसिंह ठकुरी छन् । फिल्मलाई लिएर निर्देशक ढकाल भन्छन्, ‘समर लभ पुस्तकलाई पाठक तथा दर्शकले जति माया दिनु भएको छ र यसको भाव बुझ्नुभएको छ, सोहिअनुसार कथाको मर्म मर्न दिएको छैन, पुस्तक पढ्दाको मज्जालाई पर्दामा थप अब्बलताका साथ उतारेका छौँ ।’

किताब र फिल्म फरक रहँदा पढेकै कुरालाई पर्दामा ढाल्दा फिल्मी शैलीको प्रयोगमा केही थपघट हुनसक्ने निर्देशक ढकालको भनाई छ । त्यसो त नेपाली फिल्म मेकिङमा मुख्यतः कमजोरी मानिने पाटो स्कृप्ट हो । यो पटक लाखौँ पाठक, समालोचक तथा समिक्षकले उत्कृष्ट बोलिसकेको खुला स्कृप्टमाथी फिल्म बन्दा निर्देशकमाथी पटकथा (स्कृनप्ले) राम्रो बनाउने चुनौती पनि छ ।

‘मलाई थाहा छ, नेपालमा आख्यानमाथि बनेका फिल्म राम्रो चलेका छैनन् । अझै भनूँ, पुस्तकलाई न्याय गर्ने गरी पनि बनेका छैनन्,’ निर्देशक ढकालले थपे, ‘तर यो फिल्मलाई त्यस्तो आरोप नलागोस् भनेर म सचेत छु।’

खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेको यो फिल्ममा विनोद अधिकारी कार्यकारी निर्माता र एकराज तामाङ लाइन प्रोड्यूसरमा छन् । फिल्म टिम अघिल्लो हप्तामात्रै मोफसलका दर्शकमाझ साक्षातकार गर्दै पुर्व पश्चिम यात्रा सकाएर काठमाडौं फर्केको थियो । यतिबेला राजधानी केन्द्रित प्रचारमा ‘समर लभ’ टिम लागिरहेको छ ।