कृषि मन्त्रीको प्रतिबद्धता : म ‘गोपी’लाई केही गर्छु

कृषिमन्त्री चक्रपाणि खनाल बलदेवले फिल्म ‘गोपी’ असाध्यै प्रेरणादायी कथामा बनेको बताउँदै यस्ता फिल्मलाई राष्ट्रले नै सहयोग गर्नुपर्ने बताएका छन् । बुधबार सिटीसेन्टरस्थित बिग मुभिजमा फिल्मको कर्पोरेट सोमा उपस्थिती जनाउँदै उनले ‘गोपी’लाई केही न केही सहयोग गर्ने आश्वासन दिए ।

‘मलाई थाहा भएसम्म राज्यसँग यस्ता फिल्मलाई के गर्ने भन्ने स्पष्ट नीति छैन । त्यसैले अहिले नै म के गर्ने भनेर यहाँ आश्वासन दिन सक्दिन । तर, फिल्मको कथा प्रेरणादायी छ । सरकार गोपीप्रति सकारात्मक छ,’ खनालले भने ।
आफू पनि कुनै समय कलाकार रहेको स्मरण गर्दै मन्त्री खनालले फिल्मले किसानका समस्यालाई दुरुस्त प्रस्तुत गरेको बताए । उनले भने, ‘कति समस्यासँग त म पनि परिचित थिएँ तर धेरै समस्या यो फिल्म हेरेपछि पनि थाहा पाएँ । बजार व्यवस्थापन, ऋण प्रवाहीकरण आदिमा सरकारले ध्यान दिनुपर्ने रहेछ जस्तो लाग्यो ।’क्यापिटल म्यागजिनले आयोजना गरेको कर्पोरेट सोमा उद्योग वाणिज्य महासंघका अधिकांश कार्यसमिति सदस्यको उपस्थिति थियो । फिल्मको सोअघि फिल्मले उठाएका मुद्दा र किसानका समस्यामाथि क्यापिटल म्यागजिनका प्रकट कुमारले बहस पनि चलाएका थिए । बहसमा बोल्दै महासंघ अध्यक्ष भवानी राणाले गोपीले औंल्याएजस्तै नेपालमा कृषिको विकल्प पनि नभएको र यसले सोचेजस्तो रोजगारी पनि नदिइरहेको अवस्थामा सरकारले गम्भीर भएर सोच्नुपर्ने बताएकी थिइन् । ‘चलचित्रले एकदमै सहज र सरल तरिकाले विषय उठान गरेको छ,’ राणाले भनिन्, ‘नेपालका किसान र कृषि क्षेत्रको वास्तविक समस्या यही हो ।’नेपाल डेरी एसोसिएसनका निर्वतमान अध्यक्ष तथा सिताराम गोकुल मिल्कका प्रवन्ध निर्देशक सुमित केडियाले चलचित्रले किसानको दुखको मात्रै समस्या उजागर गरेको बताए । ‘डेरी क्षेत्रमा पनि ठूलो समस्या छ,’ उनले प्रतिक्रिया दिए ‘चलचित्रले किसानको पाटो बुलन्द रुपमा उठाएको छ । तर, डेरी क्षेत्रको समस्या छोएको छैन ।’

केडियाका अनुसार अहिले डेरी क्षेत्रले सहरबाट गाउँमा दैनिक ३ करोड रुपैयाँ पठाउँदै आएका छन् । किसानबाट दूध ल्याउने र त्यो बापतको रकम गाउँमा पठाउने गरेको उनको भनाइ छ ।
गोपीको भूमिका रहेका कलाकार विपिन कार्की एक गाइपालक किसान हुन् । चलचित्रमा स्वदेशमै केही गर्नुपर्छ भन्ने देखाइएको छ । कृषि क्षेत्रमा अथाह सम्भावना पनि देखाइएको छ । चलचित्रमा गाइपालन गरेका गोपीले बढ्दो महँगी बेलामा दुध किसानले भोग्नुपरेको समस्या झेलेका छन् । नेपालमा पछिल्लो समय दुध उत्पादन किसानले दुधको उचित मुल्य नै पाउन नसक्दा पेशा नै परिवर्तन गर्नुपर्ने बाध्यतालाई कथामा समावेश गरिएको छ । विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्मलाई सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । फिल्म यही शुक्रबारबाट देशभर प्रदर्शन हुँदैछ ।