फ्राइडे रिलिजमा ‘गोपी’, ‘रणवीर’ र ‘सय कडा दश’

माघ १८ गते शुक्रवारबाट ३ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । स्वरोजगारको कथा बोकेको ‘गोपी’, एक्सन लभ स्टोरी ‘रणवीर’ र भ्रष्टाचार बिरुद्ध प्रेमको कथा बोकेको ‘सयकडा दश’ एक साथ प्रदर्शनमा आएका हुन् ।

दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘गोपी’मा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, भोलाराज सापकोटा लगायतको मुख्य भूमिका रहेको छ । आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको गोपीका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । एमए पढेर पनि गाईपालनमा होमिएका एक युवकको संघर्षकथा फिल्ममा समेटिएको छ। फिल्म सामिप्यराज तिमल्सेनाले लेखेका हुन् । गोपीमा शैलेन्द्रध्वज कार्कीको सिनेमाटोग्राफी, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत तथा विप्लव प्रतीक र बुद्धिसागरको गीत समावेश छ ।

दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाको निर्माण रहेको फिल्म ‘रणवीर’ पनि शुक्रवारबाटै प्रदर्शनमा आएको छ । एक्सन प्रधान फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । फिल्ममा प्रशान्त ताम्राकार, शुशिल सिटौला, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीका पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजाल लगायतको अभिनय रहेको छ ।

त्यस्तै, कमेडियन मनोज गजुरेलको मुख्य भूमिका रहेको फिल्म ‘सयकडा दश’ पनि शुक्रवारबाटै प्रदर्शनमा आएको छ । फिल्मले भ्रष्टाचार विरुद्ध प्रेमको कथा बोकेको छ । फिल्ममा अमृत ढुंगाना, डेब्यु नायिका करुणा श्रेष्ठ, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला लगायतको अभिनय रहेको छ । रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन, कल्याण सिंहको संगीत, स्वप्न सुमन, त्रिशाला गुरुङ र संदेश पाठकको गायन रहेको छ । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् ।