दोश्रो पटक सर्यो प्रदीप जसिताको ‘लभ स्टेसन’

दोश्रो पटक प्रदर्शन मिति सर्दै फिल्म ‘लभ स्टेशन’  को प्रदर्शन मिति चैत २२ तय भएको छ । लिलीबिली जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित फिल्मको एउटा गीत भियतनाममा छायाँकन गरेर निर्माण टिम नेपाल फर्किए लगत्तै फिल्मको प्रदर्शन मिति तय गरिएको हो ।

‘घाम जुन नै चाहिँदैन’ गीतमा प्रदीप खड्का र जसिता गुरुङले अभिनय गरेका छन् । उक्त गीतको भिडियो अगामी भ्यालेन्टाईन डेको अबसर पारेर २ फागुनमा रिलिज गरिने भएको छ । फिल्मका प्रस्तुतकर्ता एवम् वितरक गोबिन्द शाहीले लभ स्टेशनको रिलिज मिति घोषणा गर्दै यसलाई २२ चैतमा रिलिज गर्न लागेको बताए ।

कारणबारे उनले भने, ‘मैले वितरण गरेको फिल्म क्याप्टेन १७ फागुनमा,  साईंली १५ चैतमा र ए मेरो हजुर ३ को रिलिज २९ चैतमा गरिने भएपछि यी फिल्मको प्रदर्शन व्यबस्थित गर्न पनि लभ स्टेशनलाई २२ चैतमा रिलिज गर्ने निर्णय गरिएको हो ।’

फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका छन् । उनका अनुसार लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्म हो । फिल्म भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।

अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको फिल्म भन्दा लभ स्टेशनमा आफ्नो काम केही पृथक रहेको बताएका छन् । अहिलेसम्मको काम प्रसँसनीय भएको समेत उनले जानकारी गराए ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय छ । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । फिल्म निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।