हङकङमा अनुपको ‘पुरानो बुलेट’ प्रिमियर

अभिनेता अनुप विक्रम शाही, अभिनेत्री द्वय वर्षा शिवाकोटी र माला लिम्बुको मुख्य भूमिका रहेको फिल्म ‘पुरानो बुलेट’को वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न भएको छ । हङकङस्थित याउ माइ तेइ हलमा फिल्मको ग्राण्ड प्रिमियर गरिएको हो । फिल्म भीषण राईको डेब्यू निर्देशनमा तयार भएको हो ।

पुर्वेली जनजीवनमा आधारित फिल्मलाई हङकङ निवासी नेपाली दर्शकले रुचाएका छन् । फिल्मको प्रस्तुती, कलाकारहरुको अभिनय सबै पाटोलाई दर्शकले रुचाए, आयोजक मध्येका एक मज्जाको राईले भने, ‘फिल्मले नेपाली मौलिकता बोकेको छ र मौलिक नेपाली फिल्मको पहिलो प्रदर्शनी हङकङमा गर्न पाउँदा खुशी छौँ ।’ फिल्म हेरेका दर्शकले फिल्मका कलाकारहरुको कामको तारिफ गरेका छन् ।

‘हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ आयोजित उक्त प्रिमियर शोको प्रदर्शनी जिम्मा तथा व्यवस्थापकिय पाटो अनोज रोका, मज्जाको राई, विजय लिम्वु, सरु राई र सुनिता आंगदम्वेले सम्हालेका थिए । यो फिल्म नेपालमा भने आगामी चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

फिल्म ‘पुरानो बुलेट’मा अनुपबिक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुसँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, वारात लिम्बु, बादल श्रेष्ठ, करण धिताल र युडी गुप्ताको अभिनय रहेको छ । फिल्मको कथा पटकथा लेखनमा निर्देशक भीषणले कार्यकारी निर्माता सन्तोष राईसँग साझेदारी गरेका छन् । अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बु निर्मातामा छन् ।