अनुप र माला ‘पुरानो बुलेट’ मा ईटहरी

चैत्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पुरानो बुलेट’ को टिम ईटहरी पुगेको छ । प्रेसमिटका क्रममा इटहरीमा फिल्मका नायक अनुप बिक्रम शाही, नायिका माला लिम्बु, निर्देशक भिषण राई र कार्यकारी निर्माता सन्तोष राई उपस्थित थिए । यो फिल्मबाट आफुहरुले निक्कै आश राखेको नायक अनुप र नायिका मालाले बताए ।

फिल्म युनिटले ‘पुरानो बुलेट’को वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न गरिसकेको छ भने गरिब तथा असहाय विद्यार्थीहरुको सहयोगार्थ भन्दै मोरङ्गको पथरीमा पनि भर्खरै च्यारिटी शो सम्पन्न गरेको छ । क्रेजी इन्टरटेनमेन्ट प्रा।लि।को व्यानरमा पथरीका ५ जना युवाहरु मिलेर पुरानो बुलेटलाई निर्माण गरेका हुन् । फिल्ममा अनुप र मालाका अलावा वर्षा सिवाकोटी, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई, टिका राम राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मको कथा पटकथा लेखनमा निर्देशक भीषण राईले कार्यकारी निर्माता सन्तोष राईसँग साझेदारी गरेका छन् । अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बु निर्मातामा रहेका छन् । यो फिल्म सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशन फिल्म हो । पुर्वेली जनजीवनलाई केन्द्रित गरेर पुरानो बुलेटलाई निर्माण गरिएको निर्देशक भिषणले बताए । फिल्मका कार्यकारी निर्माता सन्तोष राईले फिल्म हेरिदिन आग्रह गर्दै फिल्मले मन जित्ने कुरामा विश्वत रहेको बताए ।