‘लभ स्टेशन’ अष्ट्रेलिया सेल

फिल्म लिलीबिलीबाट रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित फिल्म लभ स्टेशन बिदेश प्रदर्शनको लागि बिक्री सुरु भएको छ । फिल्मको ट्रेलर रिलिजपछि यसले पाएको चर्चासँगै बिदेशमा फिल्म प्रदर्शनका लागि खरिद कार्य सुरु भएको हो ।

नयाँ वर्षको अबसर पारेर आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँने फिल्म लभ स्टेशनलाई सोही छेको पारेर बिदेशमा पनि प्रदर्शनको तयारी हुँदैछ । यसै क्रममा लभ स्टेशनलाई आधिकारिक रुपमा अष्ट्रेलियामा प्रदर्शनका लागि गोर्खा इन्टरट्रेनमेन्टले किनेको छ ।  लभ स्टेशनलाई अष्ट्रेलियाको लागि २७ लाख रुपैयाँमा गोर्खा इन्टरट्रेनमेन्टले खरिद गरेको फिल्मका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराएका छन् । जापान लगायतका मुलुकबाट पनि फिल्म प्रदर्शनका लागि कुराकानी भईरहेको पनि उनले बताए ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा बरिष्ट संगीतकार शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यसमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको छ ।