‘ए मेरो हजुर ३’को गीत ‘परान’ले तोड्यो ‘रुपै मोहनी’को रेकर्ड

शुक्रवार सार्वजनिक गरिएको फिल्म ‘ए मेरो हजुर ३’को गीत ‘परान’ले यूट्युबमा रेकर्ड राख्न सफल भएको छ । २४ घण्टा नपुग्दै यूट्युबमा दश लाख भन्दा बढी भ्युज पाएर यो गीतले २४ घण्टामा सर्वाधिक हेरिएको नेपाली फिल्मी गीतको रेकर्ड बनाएको हो । यस अघी उक्त रेकर्ड फिल्म शत्रु गतेको गीत ‘रुपै मोहनी’ले राखेको थियो । सो गीतले २४ घण्टामा ८,४७,००० भन्दा बढी भ्युज पाएको थियो ।

युवा स्टार अनमोल केसी, डेब्यु नायिका सुहाना थापा र अभिनेता सलोन बस्नेत मुख्य रुपमा फिचर्ड भएको भिडियोले उत्कृष्ट प्रतिकृया पाइरहेको छ । आनन्द अधिकारीको शब्दमा आशिष अविरलको संगीत रहेको उक्त लोक फ्लेभरको गीतमा आशिष अविरलसंगै अन्जु पन्तको स्वर रहेको छ । प्रविन सिंहको कोरियोग्राफी रहेको उक्त गीतको भिडियो विवाहको परिवेश बनाएर निर्माण गरिएको छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनिल कुमार थापाको निर्माण रहेको फिल्मलाई नायिका तथा निर्देशक झरना थापाले निर्देशन गरेकी हुन् । फिल्ममा अनमोल सुहाना र सलोनसंगै रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, बिशाल पहाडी, रेअर राई, सरोज खनाल लगायतको मुख्य भूमिका रहेको छ । फिल्ममा कथा निर्देशक झरना थापासंगै सुमन पौडेलको रहेको छ भने पटकथा तथा संवाद छेतन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतिक पौडेलको रहेको छ । फिल्ममा आशिष अविरल, कल्याण सिंह, कोशिश क्षेत्री, पुष्पन प्रधान लगायतको संगीत समावेश छ ।

फिल्ममा कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह, राहुल शाहको कोरियोग्राफी, दिर्घ खड्काको सम्पादन, हिमाल केसीको द्वन्द तथा संजय लामा, सुदिप बराल र शम्भु मोक्तानको छायाँकन रहेको छ । फिल्मलाई उपत्यका भित्र गोविन्द शाही र उपत्यका बाहिर मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्दै छन् । फिल्म चैत्र २९ गते देखी प्रदर्शनमा आउने छ ।