माधव जी ! १४ अन्चलमा ससुराल कसरी स्वीकार गर्नु ?

माधव न्यौपानेको शब्द रहेको गीत ‘१४ अंचल ससुराल’ केही दिन अघि सार्वजनिक भएको छ । लोक गायनमा छुट्टै नाम बनाइसकेका गायक खुमन अधिकारीको आवाज रहेको गीतमा अराज केशवले र्याप हानेका छन् । डान्सिङ बिटको गीतको भिडियो पनि राम्रो बनेको छ ।

तर गीतमा प्रयोग भएका शब्दहरु आपत्तिजनक छन् । नेपालको पुर्व संरचना अनुसार रहेर बाँढिएको १४ अंचल अन्तर्गत प्रतेक अंचलमा एक जना प्रेमिका / मायालु या श्रीमती रहेको कुरा गीतले बोल्छ । गीतमा प्रतेक अंचलमा रहेका महिलाको नाम समेत रहेको छ । मेचीकी मेनका, कोशीकी कल्पना हुदै भेरीकी भीमा र सेतीकी सीतासम्म रचनाकार पुगेका छन् । अझ गीतमा खाना कुर्ने, एकरात बिताउने, भेट्न नगए मर्ने लगायत समेत उल्लेख छ ।

रचनाकारले रचना गर्ने बेला सोच्न आवस्यक थियो कि मेची मै रहेकी मेनका नामकी महिलालाई यस गीतले केही असर गर्छ गर्दैन भनेर । यहाँ त एक मात्र नभएर १४ वटा महिला नामको प्रयोग गरिएको छ । यसबाट उक्त नामका महिलामा पर्न जाने असर प्रतिको जिम्मेवारी कसले लिन्छ ? केही दिन अघि मात्रै टेलिफिल्म ‘भद्रगोल’ को पात्र पाडें प्रति आपत्ति जनाउदै पाण्डे समाजले मुद्धा समेत दायर गरेको थियो । यही प्रकारको समस्या यस गीतमा नआउला भन्न सकिन्न ।

नयाँ संबिधान निर्माण भए पनि आमाको नाममा नागरिकताको विवाद अझै सम्म समाधान हुन सकेको छैन भने गीतमा महिलालाई तल पार्नु त सामान्य कुरा नै हो भन्ने पनि आउन सक्छ । तर अन्याय सानो होस् या ठुलो आखिर अन्याय नै हो । महिलालाई कठपुतली बनाउन नपाइने र पुरुष सरहको अधिकार रहने नेपालको कानुनमा उल्लेख भएको छ । तर पनि व्यवहार भने अझै उस्तै छ ।

केही समय अगाडी लोक गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ को शब्द प्रति आपत्ति जनाउदै एक राजनतिक पाटीको भात्री संगठनले बिज्ञप्ति नै निकालेको थियो । देखिने नदेखिने शक्तिको प्रयोग भएर हो या गायक स्वयम्ले गलत गरेको अनुभव गरेर गीत यूट्युबबाट हट्यो । तर अहिलेसम्म पनि नेपाली महिला अधिकारकर्मीको ध्यान माधव न्यौपानेको शब्दमा भने गएको छैन । नेपालमा बहुविवाह गरेमा स्वतः बदर हुने कानुन केही समय अघि मात्रै कार्यन्वयनमा आएको छ ।
गीतमा प्रयोग भएको शब्दको केही अँश जस्ताको त्यस्तै:
‘छोरो मान्छे भए पछी मर्द हुनु पर्छ
१-२ वटा लभ त हजुर बादरले नी गर्छ
सिंगै देशको एक्लो ज्वाईं म त मलाई के को पिर
हिम्मत भाको ज्वाईं हुन म त पार्छु ठाडो सिर’
यसरी राज्यको कानुन बिपरितको कुरा गर्ने अधिकार रचनाकारमा नहुनु पर्ने । समानताको कुरा चलिरहेको बेलामा धेरै बिवाह गरेको भएर आफुलाइ वीर भन्नु कतिको जायज ? फेरी ‘मर्द’ शब्दको अर्थ के लाग्छ ? नागरिकको वाकस्वतन्त्रता माथि गणतान्त्रिक राज्यमा अंकुस लगाउन पाइदैन । कला संगीतको पनि आफ्नै नीति नियम र दायरा हुन्छ । यो गीतको शब्द प्रति मेरो आपत्ति छ ।