दर्शकको रोजाई एकातिर, कलाकारको प्रचार अर्कैतिर

युटुबमा छ्याप्तछ्याप्ती गरिने कुराकानी र साना साना कार्यक्रममा पनि दौडने सोचले फिल्मको व्यापारलाई कती फाइदा पुग्छ होला र ?

युटुबमा कुनै फिल्मको ट्रेलर आउने वित्तिकै आउने प्रतिक्रियामा लेखिने कुरा कस्तो हुन्छ होला ?

केही प्रतिक्रिया यहाँ उल्लेख गरिएको छ । ‘वा क्या दामी ट्रेलर ।’, ‘के ट्रेलरमा मात्र राखेको, पुरै फिल्म नै राख्नु नी ।’, ‘फिल्मको ट्रेलर त मन परेको छ । तर, आफू त विदेशमा छु युटुबमा कहिले आउँछ पुरा फिल्म ?’, ‘मलाई मनपर्ने कलाकारको ट्रेलर आएछ ।’, ‘बबाल छ बबाल अभिनय ।’

यस्तै यस्तै प्रतिक्रियाले कलाकार फुरुङ्ग पर्छन् । युटुबमा म्यूजिक भिडियो,  कुनै अन्र्तवार्ता वा फिल्मको ट्रेलर र गीतमा फ्यानले कलाकारलाई फुरुङ्ग बनाइदिन्छन् । कलाकार पनि मैले राम्रो फ्यान कमाएको छु, फिल्मले हान्ने भो भन्दै मख्ख पर्छन् ।

उनीहरुको प्रचार गर्ने तरिका पनि यस्तै प्लेटफर्ममा बढी जोडिएको हुन्छ । अन्र्तवार्तामा भ्यूज आउँदा मख्ख नहुने कुरा भएन ।

तर, यस्तै कुरामा रमाएर यसरी नै प्रचार गर्ने कलाकारले कहिले नेपाली फिल्मको वास्तविक दर्शक वुझेका छन् । हलमा दर्शकको उपस्थिती नै नहुने, तर युटुबमा तारिफको बर्षा हुने, हाम्रो प्रचार कता गैरहेको हो ?

कलाकार सस्तो बनेर फिल्म चल्दैन । मुख्य कुरा गर्न छाडेर अनावश्यक कुरामा लामो हाँसो हाँसेर पनि फिल्म चल्दैन । फिल्मको प्रचार एकातिर छ, दर्शकको रोजाई अर्कैतिर छ ।

नेपाली फिल्मका निर्माताले फिल्मको पब्लिसिटी गर्नका लागि जुन रकम खर्च गरेका छन् यो ठूलो हो । तर, आफ्नै पेरिफेरीमा नै घुमेको प्रचारले फाइदा कम घाटा ज्यादा भएको छ ।

दर्शक राम्रो फिल्म हेर्न चाहन्छन् । झुर फिल्म खेलेर एकपटक झुक्याउन सकिएला, बारम्बार सकिदैन । दर्शकले चाहेको राम्रो फिल्म खेल्नका लागि कलाकारले महत्व दिएका छैनन् । बरु, २–४ सय कमेन्टमा रमाएर आफूलाई स्टार भएको आत्मवोध गरिरहेका छन् ।

नेपाली फिल्मले दर्शक झुक्याउन थालेका छन् । कलाकारले पनि कथा भन्दा धेरै पैसा लिएर आफू स्टार भएको आत्मबोध गर्न थालेका छन् । यही भएर  पनि फिल्मको व्यापार शुन्य हुन थालेको हो ।

दर्शकलाई हिरोले लिने पारिश्रमिक भन्दा कथामा र मेकिङमा महत्व हुन्छ । तर, कलाकारको बाटो एकातिर, दर्शकको सोच अर्कैतिर पुगेको पाइएको छ । यस्तो किसिमले फिल्म चल्दैन । एकदिन हलमा गएर हात हल्लाउँदैमा निर्माता सुरक्षित हुँदैनन् । ठूलो भ्रममा छन् नेपालका कलाकार । यो भ्रमबाट बाहिर नआउने हो भने एक दुई बर्ष आफ्नै पिसाब मुनीको न्यानो हुने अनी जाडोले सकिने नै अन्तिम उपाय हो ।