पारिश्रमिकमा होइन, प्रतिशतमा काम किन नगर्ने ?

नेपाली फिल्ममा अहिले पैसा नकमाउने मान्छे को ? सजिलै जवाफ दिन सकिन्छ, निर्माता । फिल्म बनाउनेले नै पैसा कमाउन नसक्ने हो भने लगानी कसले गरिदिन्छ ? कसले यो फिल्ममा काम गर्ने हजारौलाई बचाउँछ त ?

फिल्ममा अहिले सबैले रकम कमाएका छन् । हिरो हिरोइन देखि अरु विधामा काम गर्ने सबैले रकम कमाएका छैनन् त ? जति कमाएका छन् कमाएका त छन् । किनकी, फिल्म हलमा आउनुभन्दा अगाडि सम्ममा नै सबैजनाले आफ्नो पारिश्रमिक पाइसकेका हुन्छन् । तर, फिल्म हलमा आएर पनि नचलेपछि डुब्ने भनेको निर्माता हो ।

यही भएर पनि निर्मातालाई बचाउन सकिएन भने फिल्म कसरी बाच्ला ?

लगानी गरिदिने मानिस आएपछि पो कस्तो फिल्म बनाउने, कसलाई कती दिने, को स्टार भन्ने बहस हुन्छ । तर, अहिले सबैजना स्टारको डंका पिटेर तिनै निर्मातालाई मारिरहेका छन् ।

फिल्ममा अब नयाँ शैली अपनाउन जरुरी छ कि छैन ? फिल्म बनाउनेलाई बचाउनतर्फ सोच्न कलाकारदेखि वितरकसम्म लाग्ने कि नलाग्ने ? अब फिल्ममा लगानी गर्ने मानिसलाई सुरक्षित बनाउन सबैले शेयरमा किन काम नगर्ने ?

फिल्म नाफामा गयो भने मात्र कलाकारले नाफाको शेयर, निर्देशकदेखि सबैले शेयर लिने व्यवस्था गर्न सकिन्छ कि सकिदैन ? केही समयका लागि फिल्म क्षेत्रमा यो काम गर्न जरुरी छ । फिल्म नचले कसैले पनि पैसा कमाएनन्, चल्यो भने सबैले कमाए । कम्तीमा पनि ५ देखि ७ लाख भन्दा माथि पारिश्रमिक लिनेहरुले अब शेयरमा काम गर्न आवश्यक छ । केही समय यो तरिका अपनाउने हो भने फिल्म क्षेत्रमा एउटै व्यक्ति मात्र मर्दैन ।

फिल्ममा अर्को शैलीको पनि विकास हुन जरुरी छ । बलिउडमा फिल्म चल्नु अघि नै वितरकले प्रत्येक शहरका लागि फिल्म किनिसकेका हुन्छन् । वितरकले करोडौ लगानी लगाएर प्रत्येक हलमा फिल्म फिक्समा वेच्दा निर्माता त बाच्छ नै घाटा भैहाल्यो भने पनि वितरक र हल संचालक ठूलो घाटामा जाँदैनन् । अब, नेपालमा पनि यो प्रथा किन सुरु नगर्ने ? वितरकले हिन्दी सिफिल्मलाई २–३ करोड जोखिम मोलेर नेपाल ल्याउँछन् र नेपाली फिल्ममाथि नै हान्छन् । तीनै वितरक निर्मातासँग ५ देखि १५ प्रतिशत शेयर लिएर वितरण मात्र किन गर्छन् ? के उनीहरुले फिल्मलाई फिक्समा किन्न सक्दैनन् ? हिन्दी फिल्ममाथि हुने करोडौ लगानी अब नेपाली फिल्ममाथि गर्न सकिदैन ।

फिल्ममा अहिले निर्माता बचाउन जरुरी छ । यसका लागि पारिश्रमिक होइन, शेयरमा काम गर्न आवश्यक छ । दम हुने फिल्मले सबैलाई नाफा दिन्छन्, दम नहुने फिल्मले एउटा व्यक्तिलाई मात्र मार्दैन ।