अब अष्ट्रेलियामा पनि नेपाली फिल्मको सेन्सर गर्नु पर्ने

तिन हप्ता अगाडि अष्ट्रेलियामा नेपाली फिल्मको बजार भाउ र आर्थिक कारोबारलाई लिएर तरंग नै पैदा भयो ।नेपाली चलचित्र जात्रै जात्रा अष्ट्रेलियामा मात्र ३२ लाखमा बिक्यो । अर्को चलचित्र दाल भात तरकारीलाई अष्ट्रेलियामा चलाउन ४५ लाख दिईयो ।

यी समाचारले अष्ट्रेलियामा नेपाली फिल्मको बजार र भाउ उचो रहेको स्पष्ट गर्यो । हुन पनि हो ,यो भन्दा पहिलो २ रूपैयां , कबड्डी कबड्डी,छक्का पन्जा -२, शत्रु गते, प्रसाद र बुलबुल फिल्मले यहाँ देखाएको साख, वजन र ब्यापार वाह गर्न लायकको सत्यता अष्ट्रेलियामा रहनु भएका नेपालीहरू माझ छर्लंग नै छ । हिट फिल्महरू ३ शो देखी २२ शो सम्म चलेर अष्ट्रेलियामा नेपाली फिल्मले राम्रै क्रेज बनाएका हुन ।

यति फराकिलो, बिस्तारित र अष्ट्रेलियामा फलदायी बनेको नेपाली फिल्मको बजारमा यो हप्ता भने अष्ट्रेलियामा रहेको बिदेशी चलचित्र प्रदर्शनको निती र नियमका कारण भने नेपालबाट अष्ट्रेलियामा   नेपाली फिल्म ल्याएर देखाउने आयोजकहरूले भने  केही कानुनी झन्झट ब्यहोर्नु पर्ने भएको छ । अष्ट्रेलियन चलचित्र सेन्सर  बोर्डले अब अष्ट्रेलियाको एक राज्यमा  ४ शो भन्दा बढी शो चलचित्र चलाउनु पर्यो भने अष्ट्रेलियामा पनि सेन्सर गर्नु पर्ने र सेन्सर बापत सरकारलाई नेपाली रूपैया २ लाख तिर्नु पर्ने छ , तर ४ शो भन्दा कम शो हुने फिल्मले भने यो निती अपनाउनु पर्ने छैन ।

नियम अनुसार अष्ट्रेलियामा ४ शो भन्दा बढी शो हुने फिल्मले भने २० दिन अगाडि नै सेन्सर गरि सक्नु पर्ने छ । नेपालमा ढीला सेन्सर गर्ने तर नेपाल र अष्ट्रेलियामा एक साथ फिल्म रिलिज गर्न चाहने निर्माताले भने सेन्सरको लागि एक महिना अगाडि नै फिल्मको सेन्सर गर्नु पर्ने तर्फ चनाखो हुनुपर्ने भएको छ -‘ यो नियम पहिला देखी नै थियो । अरू देशका फिल्महरू रेगुलर शो हुंदा सबैको नजर पर्दथ्यो र नियममा आउंथे तर नेपाली फिल्म चलाउनेहरूले यो नियम उलंगन गरेका थिए । शुरूमा अन्धाधुन्ध रूपमा नेपाली फिल्म आए अनि चलाइए पनि, अब भने पहिला जस्तो गर्न सकिंदैन  । यो नितीले अष्ट्रेलियामा नेपाली फिल्मलाई ब्यबस्थित गर्न मद्दत गर्ने छ -‘ कानुन बिज्ञ खिलेन्द्रराज तिमल्सिनाको भनाई छ ।

फिल्म जात्रै जात्राको अष्ट्रेलिया अधिकार किनेका रोशन भट्टराई भने यसलाई सकारात्मक रूपमा पनि लिन सकिने कुरा बताउँछन -‘ यहांको सेन्सर दस्तुर तिरेमा जति शो पनि देखाउन सकिन्छ । अब पहिलो जस्तो नेपाल र अष्ट्रेलियामा एकसाथ रिलिज भन्ने तर फिल्मको फाइल ढीला पठाउने जस्तो हेलचेक्राई चाहि गर्न नपाईंने भइयो । अष्ट्रेलिया र नेपालमा एकसाथ रिलिज गर्ने र अष्ट्रेलियाको एक राज्यमा ४ शो भन्दा बढी शो गर्ने हो भने २० दिन अगाडि अष्ट्रेलियामा पनि फिल्म  सेन्सर गर्नु पर्छ -‘ भट्टराईले स्पष्ट पारे ।

अष्ट्रेलियामा अहिले सम्म  ४ शो  को सुबिधामा टेकेर शो हरू थप्दै   नेपाली फिल्म देखाईंदै आईएको थियो। खासै कसैले चासो नदिएकोले पनि इभेन्ट सिनेमाले  ४ शो भन्दा बढी शोहरू दिंदै आएको कुरा बताईएको छ भने

अब हुन लागेको कडाईले ९५ प्रतिशत नेपाली फिल्मलाई असर नगर्ने कुरा सिड्नी निबासी निर्देशक मनोज अधिकारी बताउँछन -‘ जुन सिनेमा नेपालबाट महँगो रकममा किनिन्छ, ती फिल्महरूको लागि २ लाख नेपाली  तिरेर अष्ट्रेलियामा सेन्सर  पास गर्नु  उचित हो, ४५ लाखमा फिल्म  किन्दा २ लाख तिर्नु ठूलो कुरा होईन, अष्ट्रेलियाको  कानुन अनुसार अगाडी बढ्नु नेपाली फिल्म उधोगको लागि  पनि पछि गएर फाईदा हुनेछ। यसले मल्टीप्लेक्समा रेगुसर शो  को चाँजो पांजो मिलाउन पनि मद्दत गर्छ-‘ अधिकारीले भने ।

बजारमा हल्ला चले जस्तो अब अष्ट्रेलियामा फिल्म सिनेमा नै नचल्ने,गार्हो हुने ,ठप्प हुने जस्ता अफबाह र हाउगुजीको पछाडि नलाग्न फिल्म जात्रै जात्राका प्रदर्शक रोशन भट्टराईले आग्रह गरेका छन -‘ अब बलिउड र हलिउडका फिल्मले अष्ट्रेलियामा जून नियममा फिल्म चलाउँछन, हामी पनि त्यही स्तरमा पुगेका छौं ।अष्ट्रेलियाको सेन्सर बोर्डमा नेपाली फिल्म आफ्नो उपस्थिती जनाउने छ । अष्ट्रेलियामा नेपाली फिल्मको बजार र  साखको बारेमा पनि अष्ट्रेलियाको सरकारले जानकारी पाउने छ ।ओत लाग्दा सानो होइन ठुलै रूखमुनि लाग्नु राम्रो होइन र -?’ भट्टराईको निचोड छ ।