अवार्डको मौसम सुरु, नहोस् खेतीपाती

चलचित्र विकास बोर्डले दिदै आएको राष्ट्रिय चलचित्र पुरस्कार रोकिएको २ बर्ष भयो । यो अवार्डलाई फिल्मीकर्मीले विश्वास गरेका थिए । राष्ट्रपतिको हातबाट दिइने अवार्ड भएकाले पनि फिल्मीकर्मीका लागि यसको महत्व उच्च हुन्छ । तर, चलचित्र विकास बोर्डले अवार्ड नै गर्न सकेको छैन । बोर्डले बर्षमा एक पटक गर्ने यही अवार्ड पनि गर्न सकेन ।

अध्यक्षमा केशव भट्टराइको प्रवेश भएपछि अब अवार्ड होला भनौ । वैशाख महिना लागेपछि नेपालमा अवार्डको मौसम सुरु हुन्छ । यो मौसम कहिले ठूलो झरी बनेर आउँछ कहिले भने यो मौसमले खर्लप्पै खान्छ ।

नेपालमा अवार्डप्रतिको विश्वसनियता अहिले छैन । अब त घटेको छ भनेर शब्द प्रयोग गर्न पनि सकिदैन । किनकी, नेपालमा अवार्डप्रति फिल्मीकर्मीको चासो छैन । अवार्डमा पुग्ने कलाकारको संख्या भन्दा कुनै पत्रकारको जन्मदिनमा पुग्ने कलाकारको संख्या बढी हुनु पनि यसको उदाहरण हो ।

२०७५ सालमा आयोजना भएका अवार्डहरु पनि कन्ट्रोभर्सीमा फसे । अवार्डको बिषयमा नेपालमा कुनै पनि मापदण्ड छैन । अवार्ड कसलाई दिने भन्दा पनि नजिकालाई दिने भन्ने सोच छ फिल्म क्षेत्रमा ।

अवार्डको खाममा नाम लेखिएको कलाकार आएनन् भने आएकालाई दिने चलन त पुरानो भयो । कलाकार पनि आफूले अवार्ड पाउने वा नपाउने फाइनल गरेर पुग्ने गरेका छन् ।

नेपालमा आयोजकले अवार्ड वितरण गर्नका लागि बनाउने विधा राम्रो छैनन् । सबैलाई भाग पुर्याउनका लागि अवार्ड दिइन्छ । आफ्नो चाकडी गर्ने, नजिक हुनेलाई अवार्ड दिइन्छ ।

अहिले जुरी पनि अल्छी भएका छन् कि आयोजकको दबाबमा पर्छन् खै ! जुरीले फिल्मको नोमिनेशन निकाल्दा उत्कृष्ट ५ छुट्याउन नसकेर ६–७ निकाल्छन् । एउटै कलाकारका २ वटा फिल्म रिलिज हुँदा कुनमा राम्रो काम गरेको छ भनेर छुट्याउने कुरामा जुरी अल्छी गर्छन् । विधाहरु पनि हाँस्यास्पद छन् । भागवण्डा पुर्याउनका लागि विधाहरु असरल्ल छरिएका छन् ।

यी सबै हेर्दा नेपालको अवार्ड विश्वसयिन हुन सकेको छैन । यस साल पनि अवार्डको मौसम सुरु भएको छ । मौसम सुरु भएपछि अवार्ड आयोजकले अवार्डको मर्यादा बचाउन् । अहिले त अवार्ड आयोजना गरेर खेतीपाती गरिन्छ भनेर आरोप लाग्ने गरेको पनि छ ।

आशा गरौ यस बर्ष आरोप नलागोस् । अवार्डको मौसम, आयोजकको खेतीपाती बन्द भयो भने मात्र अवार्ड विश्वसनिय हुन्छ होला ।