फिल्म किन चल्दैन ?

छक्का पन्जा ३, ए मेरो हजुर ३, नाई भन्नु ल ५, जय भोले मात्र चलेपछि नेपाली फिल्ममा फिल्म बनाउने क्रम नै कम भयो । छायांकनरत फिल्मको संख्या थोरै भयो ।

थोरै हुनुको कारण फिल्मले नकमाउनु भनियो । फिल्मले कमाउन नसकेपछि फिल्ममा पैसा हाल्न मान्छे डराए । मान्छे डराएपछि अहिले काम नपाएर थन्किनेहरु बढे ।

गएको सालमा ४–५ वटा फिल्म मात्र किन चलेका हुन् ? फिल्म अरु किन चलेनन् ? फिल्म नचल्दा हारगुहार गर्दैमा चल्छ र ?

नाम लिइएका ४ फिल्म चलेर लगानी गर्ने मान्छेले पैसा कमाएका छन् । पैसा कमाउनुका कारण के होला ?

फिल्म चल्नमा दर्शकले विश्वास गर्नपर्छ । फिल्म हलमा हेर्दा टाउको दुख्ने अवस्थामा फिल्म हेर्न दर्शक हलमा जान सक्दैनन् । फिल्म हेरेपछि दर्शकले अरुलाई पनि फिल्म हेर भनेर भन्नपर्छ । फिल्म चल्नुको कारण त्यत्ती हो । फिल्म नराम्रो, कमजोर वा कुनै एउटा समुहमा केन्द्रित छ भने, त्यसले ठूलो कमाई गर्छ भनेर सोच्न पनि हुँदैन ।

दाल भात तरकारी यो बर्ष चल्यो । दाल भात तरकारीको टिमलाई दर्शकले विश्वास गरेका हुन् । फिल्मले २ दिन कमायो । कमाउन पनि राम्रो कमायो । फिल्मलाई दर्शकले राम्रो भन्न सकेनन् । फिल्म थियो नै कमजोर । यसपछि फिल्मको व्यापार घटेको थियो ।

घट्न पनि धेरै घट्यो । दाल भात तरकारी राम्रो बनिदिएको भए शत्रु गतेको रेकर्ड छुन पनि सक्थ्यो ।

जात्रै जात्रा आजैदेखि चल्यो । फिल्मले गरेको सुरुवातको व्यापारबाट भन्न मिल्ला, यो फिल्मले कमाउँछ । जात्रै जात्रा नराम्रो भएको भए, दर्शक निराश हुन्थे । यसले आउँदा अरु फिल्ममाथि दर्शकको भरोसा टुट्थ्यो । तर, प्रदिप भट्टराई निर्देशकले यो भरोसा बचाएका छन् ।

फिल्म चल्दैन भनेर उफ्रिन हुँदैन । आफैले हेर्न नसक्ने फिल्म दर्शकले हेरेनन् भनेर किन भन्ने ? फिल्म चल्नका लागि राम्रो बन्नपर्छ । दर्शकको स्वाद अनुसार पस्कन पर्छ । फिल्म चलेका छन् र चल्छन् पनि ।

फिल्म आफूले पनि हेर्न नसक्ने बनाउने, होमवर्क फिल्म बनाउँदा नगर्ने, निर्माता आयो भागीहाल्छ, जस्तो कथा पाए पनि बनाउँछु भनेर बनाउने हो भने चल्दैन । किनकी, त्यसमा काम नै पुरा मेहेनत हुँदैन ।

नेपाली फिल्म चलेका छन्, जुन चल्नका लागि लायक छन् । दर्शकले नै हिरो भन्न नसक्नेलाई हिरो बनाएर फिल्म चल्दैन । सडकबाट प्रेमिका, साथी, आफन्तलाई उठाएर हिरोइन बनाएर पनि चल्दैन ।

काम गर्न सक्ने, दर्शकले पत्याउनेर्लाइ लिएर राम्रो कथा बनाएमा चल्छ, चलेका पनि छन् ।