के युट्युबले फिल्मको व्यापारलाई असर गरेको छ ?

अहिले फिल्म प्रचारको लागि सजिलो माध्यम बनेको छ, युट्युब । युट्युब च्यानलमा अन्तरवार्ता दियो भने फिल्मको राम्रै प्रचार हुन्छ । तर, कुन र कसलाई अन्तरवार्ता दिने भन्ने छान्न नसक्दा कलाकार वा फिल्मकर्मी चिप्लिन्छन् । कुराकानीमा के बोल्ने/के नबोल्ने, के गर्ने/के नगर्ने भन्ने छुट्याउन नसक्दा कलाकार फिल्म रिलिज अगाडि नै सस्ता भइदिन्छन् ।

युट्युबका कारण फिल्मको प्रचारमात्र भएको छैन यसले फिल्मको व्यापारमा पनि असर गरेको छ । फिल्मको प्रचारको लागि युट्युबमा अन्तरवार्ता दिन गएका कलाकारहरुले त्यहीँ फिल्मको लुक्स देखाउछन्, संवाद बोल्छन्, रोमान्स गर्छन् । एक-दुई अन्तरवार्तामा यस्तो गरे खासै असर नगर्ला । तर, उनीहरु त दिनको एक दर्जनसम्म युट्युबमा त्यहीँ क्रियाकलाप गर्छन् । जुन कुराबाट उनीहरुलाई फलो गर्ने दर्शक वाक्क हुन्छन् र फिल्म हेर्न हलसम्म पुग्ने आट गर्दैनन् ।

युट्युबमा अन्तरवार्ता दिदाँ दर्शकसम्म फिल्मको बिषयमा जानकारी मात्र पुगेको छ कि, यस्तो प्रचारले दर्शकलाई हलसम्म आउनका लागि उत्प्रेरित गरेको छ भन्ने पनि बुझ्न पर्ने हुन्छ । नत्र, युट्युबको भ्यूज र ट्रेन्डिङमा रमाएर बस्ने अनि हलमा दर्शक नआउँदा टाउको समाउनुको विकल्प रहदैँन् ।

हुन त, कलाकार पनि त्यसैमा नै रमाएका छन् । आफ्नो अन्तरवार्ता ट्रेन्डिङमा पर्यो भने उनीहरु त्यसैमा मख्ख भइदिन्छन् । धेरै भन्दा धेरै क्यामेरा आफ्नो अगाडि देख्दा उनीहरु दंग पर्छन् र आफू सुपरस्टार भएको भ्रममा रमाउन थाल्छन् । क्यामेराको अगाडि बसेर बुममा आवाज दियो भने त फिल्मको पूर्ण प्रचार भएको ठान्छन् उनीहरु ।

अर्को कुरा त, कलाकारले युट्युब अन्तरवार्ता दिएको कुरा जस्ताको तस्तै सार्वजनिक हुन्छ भन्ने पनि छैन् । कलाकारलाई यो कुरा थाहै हुन्न कि हुन्न कि आफूले बोलेको कुरा काटिएर/टुक्रिएर गलत शिर्षक सहित गलत आशयमा प्रकाशित हुन्छ । यो गलत आशयको शिर्षकले पनि उनीहरुको फ्यानलाई भड्काइरहेको हुन्छ ।

के युट्युबले फिल्मको व्यापारलाई असर गरेको छ ?
युट्युबमा आएका कन्टेन्टहरु वैद्धिक हुन्छन् जस्तो मलाई लाग्दैन् । त्यहाँ आएका भिडियोहरुमा स्वस्थ भन्दा अवस्थ कुराहरु आउँछन् जस्तो लाग्छ । त्यहाँ अन्तरवार्ता दिदाँ आएक हेडलाइन हेर्दा फिल्मको राम्रो भन्दा पनि नराम्रो प्रचार बढि भइरहेको हुन्छ । अनि अर्को कुरा, कलाकारहरु सधै युट्युबमा देखिरहदाँ उनीहरु सस्तो लाग्छन् के । दर्शकको माग भन्दा उनीहरुको उपस्थिती बढि हुदाँ उनीहरु सस्तो भइदिन्छन् । उनीहरुको फिल्म प्रति दर्शकको चासो घट्छ । त्यसले फिल्मको व्यापारलाई पक्कै असर नै गर्छ ।– दिपेन्द्र के खनाल, निर्देशक

राम्रोहरुले सपोर्ट गर्छ । तर, जे पायो त्यहीँ शिर्षकमा अन्तरवार्ता आउँदा त्यसले चाहीँ असर गरेको छ । अहिले के भइरहेको छ भने, धेरै अन्तरवार्ता दियो भने प्रचार हुन्छ भन्ने छ । त्यो हैन । कम दिनुस् तर, प्रभावकारी युट्युबमा दिनुस् भन्छु म ।अन्तरवार्ता नदिदाँ पनि कलाकारलाई गाह्रो छ । अन्तरवार्ता दिएन भने जसलाई दिएन उसले गलत गलत समचार लेखिदिन्छ । त्यो डरले पनि अन्तरवार्ता दिन बाध्य छन् कलाकार । युट्युब भन्दा पनि टिभी तथा ‘जेनियुन’ मिडियामा अन्तरवार्ता दिदाँ राम्रो हो । युट्युबमा चाहिने भन्दा नचाहिने कुराहरु आइरहेको छ । सबै जना कलाकारहरुले एक-एक जना युट्युबर च्यापेको छ । उनीहरुको खाएको, हिडेको जे पनि अन्तरवार्तामा आइरहेको हुन्छ । मान्छेले त्यो हेर्दा हेर्दा कलाकारको भ्यालु घटिसक्यो । अझ फिल्म रिलिजको बेला कलाकारलाई सोधिने प्रश्न भनेको, ‘अभिनय गरेर देखाइदिनुस्’ हो । अनि फ्रिमा हेर्न पाएपछि दर्शक किन हलसम्म पुग्छ त ? युट्युबले गर्दा एकदमै सस्तो बनाइरहेको छ । त्यसैले यो कुरालाई कन्ट्रोल गर्न जरुरी छ ।– वर्षा सिवाकोटी, नायिका

युट्युब भनेको पत्रकारिताको एक माध्यम हो । रेडियो, टिभी, पत्रिका भएजस्तै यो पनि एक हो । युट्युब अहिले निकै सहज भएको छ । यसलाई जसले पनि जहाँ पनि हेर्न सक्छ । यसलाई अहले प्रभावकारी माध्यमका रुपमा हेर्न सकिन्छ । यो विश्वसनिय पनि हुन्छ जस्तो मलाई लाग्छ । किनभने कलाकारले बोलेको कुराललाई हामीले अडियो-भिडियो सहित प्रकाशित गरेका हुन्छौँ । जस्ताको त्यस्तै । तर, कलाकारहरुले कुन र कसलाई दिने भनेर छान्न जुरुरी छ । जुन पायो त्यहीँ ठाँउमा गएर अन्तरवार्ता दिने हो भने फिल्मलाई र कलाकारलाई पक्कै असर गर्छ ।– उत्सव रसाइली, यट्युबर/पत्रकार