कलाकारको चुनाव: लडाईं सरिता र रविन्द्रको

सरिता लामिछानेको सदस्यतामा प्रश्न उठाएर सरेको चलचित्र कलाकार संघको निर्वाचन जेठ २५ गते हुँदैछ । महेन्द्र पुलिस क्लबको सुरक्षा घेरामा सरिता लामिछाने र रविन्द्र खड्काले ३ बर्षको अध्यक्ष पदका लागि निर्वाचन लड्नेछन् ।

दुबै उम्मेदवारको के के गर्छु भनेर बुँदागत योजना आएको छ । काम गरेपनि नगरेपनि चुनावमा गर्छु भनेका छन् दुबैले ।

सरिता लामिछानेको पक्षमा महिलाको भोट देखिदैछ । सरिताको पत्रकार सम्मेलनमा रेखा थापा, करिश्मा मानन्धर, गौरी मल्ल उपस्थित थिए । उपस्थित नभएपनि साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, आँचल शर्मा, शिल्पा पोखरेलहरुले उनलाई भोट मागिसकेका छन् । दर्शकले चिन्ने अनुहारले सरितालाई समर्थन गरेको पाइयो ।

भित्री रुपमा सरितालाई जिताउन चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लागेका छन् । राजकुमार राई सरिताको पक्षमा लाग्दा रविनन्द्रको पक्षमा कांग्रेस समर्थक भएपनि रोज राणा लागेका छन् ।

रविन्द्रको पक्षमा नवल खड्का, लय संग्रौला पनि छन् । नेकपाको ध्यान रविन्द्रलाई जिताउन छ । रविन्द्रको पक्षमा राजनीतिलाई पनि आस्था बनाएका कलाकार छन् । सरिताको पक्षमा महिला कलाकार र दर्शकले चिन्ने कलाकार बढी देखिए ।

सरिताले प्यानल नै घोषणा गरेकी छैनन् । तर, सरिता महासचिव हुँदा उनीसँग काम गरेका कार्यसमिती सदस्यहरुले पनि रविन्द्रको साथ  दिएका छन् । हस्ताक्षर गरेर उनीहरुले रविन्द्रको साथ दिएको हेर्दा सरितासँग काम गर्दा असन्तुष्टी उनीहरु बनेका छन् भनेर  फिल्मी वृत्तमा चर्चा चलेको छ ।

रविन्द्रले प्यानल नै सार्वजनिक गरेका छन् । रेजिना उप्रेतीदेखि पवित्रा आचार्यहरु उनको प्यानलमा छन् । महिला र पुरुषको मिश्रित प्यानल उनमा देखिएको छ ।

निर्वाचन आन्तरिक रुपमा राजनीतिक हो । राजनीतिले पनि निर्वाचनलाई उथलपुथल बनाएको छ ।

दुबै उम्मेदवारले राजनीतिलाई संघमा छिर्न नदिने बताए । तर, दुबै उम्मेदवारमा राजनीति देखियो ।