‘साङ्लो’ को सुखद सुरुवात

विराज भट्टको फिल्म ‘साङ्लो’ ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । शुक्रबार अलनेपाल ५५ प्रतिशत अकुपेन्सी मापन गरेको जानकारी प्राप्त भएको छ । शनिबार सिंगल स्क्रिनमा ८० प्रतिशत अकुपेन्सीका साथ सुरु भएको व्यापार दिउँसोबाट हाउसफुल रह्यो । मल्टीप्लेक्समा कम शोज पाएपनि फिल्मले शनिबार दिनभरि ५० प्रतिशत अकुपेन्सी कायम गरेको वितरक गोपाल काजि कायस्थले जानकारी दिए । विशेष गरि राजधानीका गोपीकृष्ण, गुण सिनेमाज, अष्टनारायण हाउसफुल थिए भने, मोफसलका धनगढी, पोखरा, नारायणगढ, इटहरी, बुलवललगायतका ठुला स्टेशनमा दर्शकको अत्याधिक चाप रहेको वितरक एफडीले जानकारी दियो ।

विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा तेज बहादुर खड्काको निर्माण छ । फिल्ममा बिराज भट्ट, निकिता चन्दक, प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, भारत शाह र रमेश सोडारीको अभिनय छ । फिल्ममा सुरेश अधिकारी, राजन राज सिवाकोटी र खम्बू सिंहको संगीत, मानकृष्ण महर्जनको छायांकन रहेको छ । बिराज भट्ट र पुर्व मिस नेपाल निकिता चन्दक अभिनित फिल्ममा शिवम अधिकारीको लेखन रहेको फिल्ममा द्वन्द निर्देशन श्री श्रेष्ठको रहेको छ । राजेन्द्र रावल निर्माण नियन्त्रक रहेको फिल्ममा नवराज शर्मा मुख्य सहायक निर्देशक रहेका छन् । फिल्म बिराज भट्टले निर्देशन गरेका छन् ।