फ्राइडे रिलिज : हलमा ५ नयाँ फिल्म

आज फागुन ९ गते महाशिवरात्री हलमा ५ नयाँ फिल्म लागेका छन् । दुई नेपाली फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ को साथमा २ हिन्दी फिल्म ‘भूत’ र ‘शुभ मंगल ज्यादा सावधान’ तथा एक अंग्रेजी फिल्म ‘द कल अफ द वाइल्ड’ आज बाट प्रदर्शनमा आएका हुन्, भने पुरानो फिल्म ‘लभ आज कल’ समेत हलबाट उत्रेको छैन ।

फिल्म ‘आमा’ मा दिपेन्द्र के खनालको निर्देशन र लेखन रहेको छ । फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मा, सरोज अर्याल, अश्मिता खनाल, सुदिप खतिवडा, झकेन्द्र जीसी, विकास खनाल लगायतको अभिनय रहेको छ । शर्मिला पाण्डेको निर्माणमा बनेको फिल्म आज नेपाल सहित अष्ट्रेलिया र अमेरिकामा समेत रिलिज भएको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्म  ‘सेन्टी भाइरस’ मा सिताराम कट्टेल, कुन्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ, सन्दिप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ । सिताराम ‘सेन्टी भाइरस’ को निर्माण रंगशाला निर्माणको एक अंश रहेको बताउँछन् । फिल्म सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेका हुन् ।