रिक्सा चालकलाई ‘धुलो’ को सम्मान, ज्याकेट र छात्रबृत्ति

यहि १६ फागुनबाट प्रदर्शन हुन लागेको फिल्म ‘धुलो’ ले प्रचारप्रशारलाई तीव्रता दिएको छ । फिल्म निर्माण टिमले बुधबार राजधानीको क्षेत्रपाटिस्थित पब्लिक युथ क्याम्पसमा एक कार्यक्रम गरेर लामो समय देखि रिक्सा चलाएर जीवनयापन गरिरहेका दुइजना रिक्सा चालकहरुलाई सम्मान गरेको छ ।

सम्मानीत हुनेमा बिगत चार दशकदेखि ठमेल, क्षेत्रपाटी क्षेत्रमा रिक्सा चलाउदै आएका हिरालाल तामाङ र दुई दशकदेखि सोही स्थानमा रिक्सा चलाउदै आएका बलबहादुर श्रेष्ठ छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अथिति बरिष्ट चलचित्रकर्मी नीर शाह, बिशिष्ट अथिति नेपाल टेलिभिजनका महाप्रबन्धक गोबिन्द रोक्का र निर्देशक प्रद्युम्न मिश्रले सम्मान गरेका थिए । त्यस्तै फिल्मका तर्फबाट नागार्जुन एकेडेमीमा आगामी शैक्षिक सत्रदेखि रिक्सा मजदुरका दुई जना छोराछोरीलाई छात्रबृत्तिको ब्यबस्था मिलाइएको घोषणा पनि गरियो ।

कार्यक्रममा करिब एक सय जना रिक्सा चालकलाई ‘धुलो’ अंकीत ज्याकेट प्रदान गरिएको थियो । ‘धुलो’ ले गरेको समाजीक कार्यको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणालगायतका अथितिले प्रसंसा गरेका थिए । कार्यक्रमपछि ‘धुलो’ मा बिशेष भूमिकामा रहेका अभिनेता शाह, प्रमुख भूमिकामा अभिनीत बुद्धि तामाङ, निर्देशक मिश्र, चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी, निर्देशक समाजकी अध्यक्ष राणालगायत फिल्मको युनीटले रिक्सामा क्षेत्रपाटी परिक्रमा गरेको थियो ।

राजधानीमा रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मज्दुरको वास्तबिक कथामा फिल्म निर्माण गरेकाले उनीहरुकै सम्मानमा कार्यक्रम आयोजना गरेको निर्देशक मिश्रले बताए । त्यस्तै अभिनेता निर शाहले ‘धुलो’ ले मजदुर र मजदुरीको सम्मान गरेकोमा खुशी ब्यक्त गरे । त्यसैगरी, चलचित्र निर्माता संघका अध्यक्ष अधिकारीले ‘धुलो’ यथार्थपरक कथामा निर्माण गरिएकाले हरेक मान्छेको मन छुने बिश्वास ब्यक्त गरे । अभिनेता तामाङले आफू ‘धुलो’ मा बास्तविक जीवनहरुसँग नजिक रहेको पात्रमा प्रस्तुत भएको बताउदै दर्शकको प्रिय बन्ने आशा ब्यक्त गरे ।

दीपा धरेलको प्रस्तुति रहेको फिल्ममा बुद्धि तामाङ,अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्की लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् । फिल्ममा नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवा बिशेष भूमिकामा छन् । लक्ष्मी गौतम र नानीराम फुँयाल निर्माता रहेको फिल्मको प्रोजेक्ट एडभाइजरमा सिके वाग्ले छन् । फिल्ममा केशब मिश्र र दीपक समीरको गीत, शंकर थापा र जुगल डंगोलको संगीत, रबिन आचार्यको छायांकन रहेको छ ।