चैत २८ : निर्माता अर्जुन कुमारको आक्रोश

फिल्म कला मात्रै नभएर व्यवसाय पनि हो । ठुलो लगानी लगाएर बनाइने फिल्मबाट नाफाको अपेक्षा गर्नु गलत पनि होइन ।  ब्यापार नै गर्न भनेर बनाइने फिल्मको ब्यापार तल माथि हुनु सामान्य नै हो । नेपाली फिल्म क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा रहेको सत्यतालाई नकार्न सकिदैन । तर त्यसो भन्दैमा व्यवसायिक धर्मलाई नै बिर्सेर एक अर्का माथि खनिनु भने पक्कै पनि राम्रो होइन ।

एकै क्षेत्रमा रहेर काम गर्नु पर्ने, फेरी नेपाली फिल्म क्षेत्र त कति नै ठुलो छ र ! तर समय समयमा यहाँ पनि असामान्य लाग्ने खिचातानी हुने गरेको छ । यसले दर्शक भड्किने मात्रै नभएर समग्र फिल्म क्षेत्रलाई नै घाटा हुने स्थिति छ ।

यहि चैत्र २८गतेबाट दुई नेपाली फिल्म ‘चपली हाइट ३’ र प्रेम गीत ३ प्रदर्शनमा आउदै छन् । दुवै फिल्मका अगिल्ला सिक्वेलहरु सफल मानिएका छन् । साथै दुवै फिल्मलाई लिएर दर्शक उत्साहित समेत छन् । नयाँ बर्ष छेको पारेर प्रदर्शनमा आउन लागेका फिल्मले दर्शक नापाउने स्थिति पनि छैन ।

यहि बीच ‘चपली हाइट ३’ का निर्माता अर्जुन कुमारले सामाजिक संजालमा आक्रोशले भरिएको एक स्ट्याटस सार्वजनिक गरेका छन् । यहि विषयमा मेरो फिल्मको जिज्ञासामा उनले केही कुरा बताए ।

हिजो मात्रै फिल्मको टिजर सार्वजनिक भयो । युट्युव मार्फत सार्वजनिक गरिएको टिजरमा आएका प्रतिक्रिया अचम्म लाग्दा छन् । एउटा फिल्मको टिजरमा अर्कै फिल्मको प्रसंसा ! फेरी उक्त मितिमा फिल्म प्रदर्शन नगर्न धम्की नै आएका छन् । यस विषयमा, निर्माता अर्जुन यो स्वतस्फुर्त आएका प्रतिक्रिया नभई नियोजित तवरले गराइएको भन्छन् । उनको गुनासो, फिल्मको व्यवसायमा स्वतस्फुर्त प्रतिष्पर्धा गर्न छोडेर यस किसिमको ‘घिन लाग्दो’ हत्कण्डा किन अपनाइदै छ ? भन्ने हो । यस प्रकारको आक्रमण फिल्मको टिजरमा मात्रै सिमित रहेन छ । उनको सामाजिक संजाल अकाउन्टका नितान्त व्यक्तिगत तस्विरहरुमा समेत यस प्रकारको आक्रमण भएको रहेछ । उनले अति भएपछी सहन नसकेर सामाजिक संजालमा प्रतिक्रिया दिएको बताएका छन् ।

दुवै फिल्म प्रतिक्षारत छन् । स्वस्थ प्रतिष्पर्धा गर्दै फिल्मको प्रचार गरियोस । दुवै फिल्मलाई शुभकामना ।