हलमा नजान सरकारको आग्रह, ‘हल बन्द नहुने’ : चलचित्र संघ

विश्वभर माहामारी बनेको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले फिल्म हलमा नजान आग्रह गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले मानिसहरु भेला हुने भोज-भतेर, सभा समारोह, ब्रतबन्धलगायतका समारोहमा नजान आह्वान गरेको हो । तर आइतबार बसेको नेपाल चलचित्र संघको बैठकले भने हलहरु बन्द नगर्ने निर्णय गरेको छ । हलहरु बन्द गर्दा देशभर रहेका सय भन्दा बढी हलहरु प्रभावित हुने भएकाले उक्त निर्णय गरिएको हो । साथै चलचित्र संघले सरकार समक्ष कर छुट गर्नुपर्ने प्रस्ताब राख्ने पनि बुझिएको छ ।

चलचित्र संघका उप-महासचिब गोपालकाजि कायस्थले सरकारले दर्शकहरुलाई फिल्म हलमा नजान आग्रह गरेको तर हल संचालकहरु लाई हल बन्द गर्न नभनेको बताए । उनका अनुसार अहिले हलहरु चालु अवस्थामा भए पनि दर्शकहरु भने अत्यन्त न्युन संख्यामा रहेका छन् ।

त्यसैगरि नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार कोरोनाका कारण सरेका फिल्महरुको रिलिज मिति मिलाउने पनि अत्यन्त गाह्रो हुने देखिएको छ । उनका अनुसार अहिले मिति सारेका र पछीको लागि मिति तोकिसकेका फिल्महरु लाई मिलाएर लैजानु पर्नेछ ।

कोरोना भाइरसबाट बच्न प्रत्येक स्थानीय तहमा समन्वय समिति गठन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । स्थानीय तह र वडास्तरमा समन्वय समिति गठन गर्न मन्त्रालयले उक्त निर्णय संघीय मामिला तथा सामान्य प्रशासनमा पत्र समेत पठाएको बताइएको छ ।मन्त्रालयका प्रवक्ता मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हाल चार सय ५० जनाको परीक्षण गरेकोमा एक जनामा पोजेटिभ देखिएको भए पनि अन्यमा कोरोना नदेखिएको बताएका छन् ।

यसका साथै कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नेपालमा फैलिन नदिन सरकारले आठ मुलुकहरु (चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनबाट नेपाल भ्रमणमा आउने विदेशी नागरिक ‘अनअराइभल भिसा’ स्थगन गरेको छ । त्यसैगरी सरकारले चीन र भारतसँग जोडिएका ४३ नाकाहरुमा ‘हेल्थ डेस्क’ स्थापना गरेको छ भने तीन नाकाहरुमा स्थानीय तहले नै स्वास्थ्यकर्मीसहितको ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको जनाएको छ । साथै ती नाकाहरुमा स्वास्थ्यकर्मीहरुले नेपाल प्रवेश गर्ने व्यक्तिहरुको स्क्रिनिङ र स्वास्थ्य परीक्षण कार्य निरन्तर गरिरहेको जनाएको छ ।