कनिका कपूरको पाँचौँ परीक्षण पनि पोजेटिभ

कोभिड-१९ सँग जुधिरहेकी भारतीय गायिका कनिका कपूरको पाँचौँ परीक्षण पनि पोजेटिभ आएको छ । ११ दिनदेखि उत्तर प्रदेशको राजधानी लखनऊमा रहेको पीजीआई अस्पतालमा उपचाररत उनको पाँचौँ पटकको परीक्षणमा पनि कोरोनाको संक्रमण देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अस्पतालले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जनाएको छ । पीजीआई अस्पतालका निर्देशक आरके धिमानका अनुसार कनिकालाई कोरोनाका गम्भीर लक्षणहरु देखिएका छैनन् भने उनको अवस्था सामान्य रहेको छ ।

निर्देशक धिमानका अनुसार उनी सामान्य रुपमा खाना खाइरहेकी छिन् । गत मार्च ९ मा लण्डनबाट उनी भारत फर्किएकी थिइन् । लण्डनबाट फर्केको केही दिनमा लखनऊ आइपुगेकी उनले पार्टी दिएकी थिइन् । उक्त पार्टीमा कम्तिमा ५ सयजना सहभागी थिए ।

कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई मार्च २० मा अस्पताल भर्ना गरिएको थियो । विदेशबाट आएर केही दिन क्वारेन्टाइनमा बस्नुपर्नेमा त्यसलाई वेवास्ता गरेको भन्दै भारतमा उनको चर्को आलोचना भएको थियो ।