‘नाइँ नभन्नु ल -६’ खेल्ने निश्चित भएको छैन – वर्षा राउत

कोरोना भाइरसको कारण यतिबेला फिल्म उद्योग ठप्प छ । लेखक तथा निर्देशक विकाशराज आचार्य भने यहि बेला ‘नाइँ नभन्नु ल -६’ को कलाकारहरु छनोटको क्रममा छन् । केहि संचार माध्यमहरुमा उक्त फिल्ममा वर्षा राउत खेल्ने बारे समाचारहरु पनि आइरहेका छन् । तर अभिनेत्री वर्षा राउतले भने मेरोफिल्मसंगको कुराकानीमा आफु संग निर्माण टिमको अनौपचारिक कुरा मात्र भएको र त्यसबाहेक कुरा अघि नबढेको बताएकी छिन् । उनले आफ्नो पहिलो प्राथमिकतामा कोरोनाको कारण पछि धकेलिएका फिल्महरु ‘२ नम्बरी’ र ‘के घर के डेरा’ रहेको बताइन् । स्थिति सामान्य हुन साथ उनि ति दुई फिल्मको काममा ब्यस्त हुनेछिन् ।

स्रोतका अनुसार ‘नाइँ नभन्नु ल -६’ को छायांकन बैसाख २ गते बाट शुरु गर्ने योजना थियो । हाल अध्ययनको लागि भारतको देहरादुनमा रहेकी सेड्रिना शर्माको समय अनुकुल बनाएर उक्त छायांकन मिति निश्चित गरिएको बुझिएको छ । साथै फिल्मको लागि हाल सम्म अनुभव रेग्मी र सेड्रिना शर्मा मात्र निश्चित भएको बुझिएको छ ।

फिल्मको नयाँ छायांकन मिति कोरोनाको प्रभाब समाप्त भएपछि मात्र थाहा हुनेछ र यदि वर्षा फिल्मको लागि फाइनल भईन् भने उनको अन्य दुइ फिल्म पछि मात्र ‘नाइँ नभन्नु ल -६’ को छायांकन सम्भब हुनेछ । वर्षाले सिरिजको  फिल्म ‘नाइँ नभन्नु ल ४ ‘ बाट फिल्ममा डेब्यु गरेकी थिइन् ।