फुर्सदमा फिल्म सम्पादक : पढ्दै, फिल्म हेर्दै, सिक्दै

कोरोना भाइरसको प्रभाब संगै छायांकनहरु प्रभावित भए पछि यतिबेला फिल्म सम्पादकहरु संग नयाँ कामहरु छैनन् । घरमै एडीटिंग सेट भएकाहरु केहि पुरानै काम पनि गरिरहेका छन् भने धेरै जसो समय फिल्म हेर्ने, पुस्तकहरु पढ्ने र परिवार संग रमाइलो गर्दै बिताइरहेका छन् ।

अरु बेला कामको चापले घर परिवारलाई समय दिन नपाएकाहरुले परिवार संग समय बिताउने अवसर पाएका छन् । मेरोफिल्म ले फिल्म उद्योगका केहि ब्यस्त फिल्म सम्पादकहरुसंग लकडाउनको समयबारे कुराकानी गरेको छ –

बनिश शाह
फिल्ममै काम गर्ने भएर बनिश शाहलाई त्यति धेरै फिल्म हेर्न मन लाग्दैन । उनि बच्चा संग रमाइलो गर्दै समय बिताउदै छन् । उनि भन्छन् – “अरु बेला टाईमको भर हुँदैन, अहिले फुर्सदै फुर्सद । ‘प्रेम गीत -३’ को ३-४ दिनको काम बाँकी छ, ‘निम्तो’ को लागि पनि टाईम दिनुपर्ने थियो, अब काम कहिले शुरु होला जस्तो भएको छ, एडीटिंग सेट घरमै ल्याउन पर्ने रहेछ” ।

दिर्घ खड्का
सम्पादक दिर्घ खड्का ‘चपली हाइट -३’ को काम सकेर ‘परदेशी -२’ र ‘ए मेरो हजुर -४’ को काम शुरु गर्ने तयारीमा थिए तर लकडाउन भएपछी घरमै बसिरहेका छन् । उनि ब्यायाम गर्ने, खाना बनाउने र आराम गर्ने गरिरहेका छन् । उनि भन्छन् – “ब्यस्त लाइफबाट फुर्सद मिलेको छ, फिल्महरु हेर्दै छु तर टाइम पास गर्न गार्हो भएको छ” ।

अर्जुन जि. सि.
अर्जुन जिसि पनि यतिबेला घरमै छन् । उनले भने – ” ‘म यस्तो गीत गाउछु -२’ को काममा थिएँ, भोजपुरि फिल्म र ‘सम्हालिन्छ कहिले यो मन’ को कामहरु पनि लाइन बाइ लाइन हुँदै थियो, लक डाउन सुरु भाइहाल्यो । अहिले खाना पकाउने खाने, अनि घरकै काम गरेर दिन बितिरहेको छ” ।

कृष्ण भण्डारी
कृष्ण भण्डारीले यो समयलाई सदुपयोग गरेर पुराना पेण्डिङ्ग कामहरु सिध्याएको बताएका छन् । उनले भने – “पहिले सामाजिक संजालमा खासै समय दिदैन थिएँ लकडाउन पछि भने अलि अलि समय सामाजिक संजाललाई दिएर बाँकी समय फिल्म तथा वेब सिरिज हेर्दै बिताइरहेको छु”। उनि अगाडी भन्छन् – ‘पहिले चाहँदा चाहँदै पनि हेर्न नभ्याएका फिल्महरु हेर्ने मौका मिलेको छ । विभिन्न देशका फिल्महरु हेरेर कहाँ कस्तो फिल्महरु बनिरहेको छ भनेर जान्ने तथा नयाँ कुराहरु पनि बुझ्ने अवसर पाएको छु” ।

मित्र डि गुरुङ
मित्र डि गुरुङले आफ्नो समय पढाई र सिकाइमै बितिरहेको बताए । उनि भन्छन् – “लकडाउन पछि आज सम्म काम गरेको छैन तर भोली देखी ‘मन्त्र’ को कलर गर्नु पर्ने छ । यो समयमा धेरै फिल्महरु हेरियो अनी अनलाइन कोर्स गर्दै टाईम बितेको छ, ‘माइकल अधिकारी’ को मैले गर्नुपर्ने काम सकियो” ।

चन्दन दत्त
चन्दनसंग यतिबेला खासै काम छैन । उनि लकडाउनमा पुस्तकहरु पढ्दैछन् । भर्खरै उनले अमर न्यौपानेको ‘सेतो धरती’ पढी सिध्याए । उनि भन्छन् – “दुई वटा फिल्मको काम थियो, एउटाको टाइटलको काम बाँकी छ भने अब अर्को चाहिं लकडाउन पछी मात्र हुन्छ” । उनले आफु स्क्रीप्ट लेखनको काम पनि गरिरहेको र बाँकी समय भान्जा भान्जी संग रमाइलो गर्दै बिताइरहेको बताए ।