नाट्य महोत्सवमा शुक्रबार ३ नाटक – ‘टु बी’, ‘म्याड म्यान्स डायरी’ र ‘भोको घर’

लकडाउनको समयमा रङ्गमञ्चका दर्शकहरुले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यका साथ शुरु भएको ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को पोंध्रौ दिन शुक्रबार तीन नाटकहरु देखाइने भएको छ । फेसबुक लाइभ मार्फत दिउँसो १ बजे ‘टु बी’ र ‘म्याड म्यान्स डायरी’, साँझ ५ बजे नाटक ‘भोको घर’ देखाइने छ । नाटकहरु थिएटर मलको आधिकारिक फेसबुक पेज www.fb.com/theatremall बाट हेर्न सकिनेछ ।

दिउँसो देखाइने नाटक ‘टु बी’ डेनमार्कको नाटक हो । यस नाटकमा ज्याक्स सेफेरियन म्यथिसनको लेखन तथा निर्देशन रहेको छ । सम्बाद रहित यस नाटकमा मानब अधिकार र हाम्रो जीवनमा त्यसको अर्थ तथा महत्वबारे चर्चा रहेको छ । नाटकमा निर्देशककै एकल प्रस्तुति रहेको छ ।

त्यसैगरी दिउँसोकै अर्को नाटक ‘म्याड म्यान्स डायरी’ चिनियाँ साहित्यकार लु सुनको कथामा आधारित नाटक हो । यस नाटकलाई चे शंकरले निर्देशन गरेका हुन् भने नाटकमा सुदाम सिकेको एकल अभिनय रहेको छ । नाटक कुञ्ज थिएटरमा नियमित मन्चन गरिएको थियो । लु सुनको कथाको नाट्य रुपान्तरण कबि विप्लव प्रतिकले गरेका हुन् ।

नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ ले तीसको दशकमा लेखेको एकाङ्की नाटक ‘भोको घर’ लाई केदार श्रेष्ठले निर्देशन गरेका हुन् । यस नाटकमा आकाश मगर, शान्ति गिरि, सुदाम सिके, संजिता पराजुली र अभय बरालको अभिनय देख्न सकिन्छ । नाटकमा एकै परिधिमा रुमल्लिरहने वा रुमल्लिरहन बाध्य भएका मध्यम वर्गीय सोँच र आर्थिक संकटले पैदा गर्ने पारिवारिक समस्या देखाउन खोजिएको छ ।

थिएटर मल – कीर्तिपुर रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले मार्च २७ (चैत्र १४) विश्व रङ्गमञ्च दिवसको दिन देखि ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ शुरु गरेको हो । सरकारले कोरोना भाइरसको कारण लकडाउन घोषणा गरेपछि नाट्य महोत्सब शुरु गरिएको थियो । महोत्सव अन्तर्गत चैत्र २७ गते दुई नाटकहरु देखाइएको थियो । महोत्सव २९ गते शनिबार समापन हुनेछ ।