गुरूङ फिल्मको डेढ करोड रकम फ्रिज : फिल्मकर्मी माओत्से गुरूङ

कोरोना महामारीको कारण देशले लामो समय लकडाउनमा बस्नु पर्यो । पछिलो समय केहि खुकुलो भए पनि अवस्था साम्य भने भएको छैन । यहि समयमा फिल्म निर्माता तथा कलाकार माओत्से गुरूङ भने तरकारी खेति तर्फ आकर्षित भएका छन् । पर्दामा तथा सार्वजनिक कार्यक्रममा देखिरहने उनलाई समेत यो स्थिति सामान्य पक्कै थिएन । त्यसैले उनी तरकारी खेतितर्फ मोडिएको बताउँछन् । यसको सकारात्मक असर आफुमा परेको समेत उनी स्विकार्छन् । घर नजिकै जग्गा भाडामा लिएर उनले तरकारी खेति शुरू गरेका छन् ।

क्षेत्रीय स्तरमा रहेर उनले नेपाली फिल्मको साथ साथै गुरूङ फिल्ममा काम गरिरहेका छन् । लगानीको रकम ठुलो सानो जस्तो भए पनि फिल्म क्षेत्रले भोगिरहेको यो विषम परिस्थितीका समस्या भने साझा रहेको उनको विचार छ । ५ गुरूङ फिल्म प्रदर्शन तयारीमा रहेकोमा कोरोना भाइरसका कारण रोकिएका छन् भने ७ फिल्मले छायांकन नै रोकेर बस्नु परेको छ । यसको असर लगभग डेढ करोड रुपैयाँ रकम फ्रिज भएको उनको आंकलन छ । गुरूङ फिल्ममात्रै नभएर सबै क्षेत्रीय फिल्मले यो प्रकारको समस्या भोगिरहेको उनी बताउँछन् । फिल्म तयार गर्यो हलमा लाग्ने समयमा छुट्टै समस्या भोग्नु पर्ने उनको गुनासो छ ।

लकडाउनको परिणाम नै भनौ गुठबंदी कम भएर सामुहिक आवाज आउन थालेको उनको बुझाइ छ । जसले फिल्म क्षेत्रमा सकारात्मक प्रभाव पार्ने पक्का छ । त्यस्तै अबको फिल्मको कथा र विषय वस्तु मात्रै नभएर लगानी, प्रचारको तरिका, कथा बाचनको प्रकृया लगानी र प्रदर्शनको माध्यममा समेत परिवर्तन आउन सक्ने उनको बुझाइ छ ।

चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा शनिबार ‘लकडाउन पछिको नेपाली चलचित्र : चुनौती, यथार्थ र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा फिल्म निर्देशक अनुप बराल, कलाकार माओत्से गुरूङ र हल सञ्चालक निकेश द्वासँग पत्रकार अपिल त्रिपाठीले सहजीकरण गरेका थिए ।