ठुला ब्यानर पछि लागे, को आउला अघि ?


कोरोना भाइरसको संक्रमण बढेको छ । संक्रमितहरुको मृत्युदर पनि बढेको छ । दैनिक रुपमा संक्रमित बढेको खबर आएको छ । यसले फिल्म क्षेत्रलाई तनाव दिन थालेको छ । फिल्म क्षेत्रका सुचारु हुन्छ भनेर आशा गर्ने ठाउँ फेरि निराशामा बदलिन थालेको छ ।

हल खोलेर पनि के चलाउने भन्ने तनावमा छन् हल संचालकहरु । हल संचालकहरुलाई नयाँ फिल्म तत्काल चलाउन सकिन्छ भन्ने छैन । चलिसकेका, टीभीमा आइसकेका फिल्म चलाएर के गर्नु ? निर्माताहरुले फिल्म चलाउने भन्न सकेका छैनन् ।

फिल्म बनाएर यो क्षेत्रलाई चलायमान बनाउने बिषयमा छलफल हुन आवश्यक पनि छ । तर, फिल्म निर्माणको तरिका हेर्दा ठूला ब्यानर पछि लागेका छन् ।

दिपकराज गिरीले महंगो बजेटमा फिल्म बनाउने भनेर छक्का पन्जा ४ लाई यो बर्ष नै नबनाउने बताएका पनि छन् । दिपकराजको फिल्म बन्यो भने दर्शक हलसम्म आउछन् भन्ने आशा फिल्मकर्मीलाई थियो । प्रदिप भट्टराई, मह जोडीले मिलेर बनाउने फिल्मको छायांकन पनि यो बर्ष सुरु नहुने जस्तो छ । उनीहरु पनि माहोल सबै राम्रो भएपछि मात्र फिल्म बनाउनुपर्छ भन्ने सोचमा छन् ।

फिल्म बनाउनका लागि केही निर्माताहरु कस्सिएका पनि छन् । दिपेन्द्र के खनालले २ वटा फिल्म दर्ता गरेका छन् । मिलन चाम्स, मौनता श्रेष्ठ, रेखा थापा, रोज राणा फिल्म बनाइहाल्ने सोचमा गएको पनि छन् ।

अहिले, दर्शकले पत्याउने र उनीहरु हलसम्म आउने फिल्मकर्मीले फिल्म बनाउनुपर्छ । दर्शकलाई हलसम्म तान्न सक्ने खुबी भएका हिरो हिरोइनले फिल्म चाडै खेले भने माहोल तातिन समय नलाग्न सक्छ ।

तर, करोडौ रकममा फिल्म बनाएर जोखिम मोल्न कोही पनि चाहदैन । यही भएर बनेका फिल्म चलाउन पनि निर्माताले मान्दैनन्, नबनेका फिल्मका निर्माता पनि अहिले बनाउन चाहदैनन् ।

फिल्म क्षेत्र त केही बर्ष पर धकेलिएको छ । तर, अघि ल्याउने कसले, खोजी यता गर्नुपर्ने देखिएको छ ।