१० महिना पछि हल खोल्ने अनुमति, सरकारले बनायो हल संचालन तथा अनुगमनको १९ बुँदे मापदण्ड

नेपाल सरकारले गत आइतबार फिल्म हलहरु खुलाउने घोषणा गरे लगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फिल्म हल सञ्चालनका लागि नयाँ मापदण्ड लागू गरेको छ ।

सरकारले चैत्र ११ गतेदेखि बन्द रहेका हलहरु सुरक्षा मापदण्ड अपनाएर खोल्ने निर्णय गर्यो । सरकारले फिल्महल खोल्ने निर्णयसँगै हल संचालन तथा अनुगमनको मापदण्ड पनि तयार पारेको छ । सरकारले सार्वजनिक गरेको मापदण्डमा रहेर प्रदर्शकहरुले हल संचालन गर्नुपर्नेछ ।

कोरोना भाइरस महामारीका कारण चैत्र ११ गतेदेखि बन्द रहेका हलहरु एकतर्फी रुपमा पौष १० गतेबाट संचालनमा आएका थिए । त्यसको १५ दिनपछि सरकारले हल खोल्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्ले हल खोल्ने अनुमती दिएसँगै संचार मन्त्रालयले हल संचालनका लागि मापदण्ड तयार पारेको हो ।

मापदण्डमा भनिएको छ-‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न थाले लगत्तै नेपाल सरकारले लागू गरेको लकडाउन अगावै फिल्म निर्माण कार्य तथा फिल्म घरहरु बन्द भएको अवस्थामा नेपाल सरकार (मन्त्रिपरिषद्) को पुस २६ गतेको निर्णयानुसार स्वास्थ्य र सुरक्षाका मापदण्ड पूर्ण पालना हुने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक मापदण्ड बनाइ फिल्म प्रदर्शन (सिनेमा हल) सञ्चालन गर्न अनुमति दिने र मापदण्डको पालना भए नभएको कडाईका साथ अनुगमन गर्ने व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाउने गरी निर्णय भए बमोजिम तपशिलमा उल्लेख भए अनुसारको मापदण्ड लागू गरिएको छ ।’

मापदण्डको पहिलो बुँदामा भनिएको छ—‘चलचित्र घरहरुले अनलाइन बुकिङमार्फत टिकट विक्री गर्न सक्नेछन् । फिल्मको टिकट काउण्टरबाट टिकट बिक्री गर्नु पर्दा तोकिएको भौतिक दुरी कायम गरी सोको अनिवार्य पालना गर्ने, गराउने र यसका लागि दर्शकलाई गोलाकार भित्रको घेरा बनाई उक्त घेरामा लाईनमा बसी टिकट लिने प्रवन्ध मिलाउनु पर्नेछ ।’

मापदण्डको दोस्रो बुँदामा दर्शकको तापक्रम नाप्ने यन्त्रको प्रयोग गर्ने, सेनिटाइजरको प्रयोग गरेर मात्र सिनेमा हलमा प्रवेश गराउनु पर्ने उल्लेख छ । १०० दशमलव ४ डिग्री भन्दा बढी तापक्रम देखिएका हलभित्र प्रवेश गराउनु हुँदैन ।

दर्शक तथा हलका कर्मचारीले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, सिनेमा हलमा दर्शकलाई प्रवेश गराउँदा प्रत्येक दश जना दर्शकहरु आफ्ना सिटमा बसीसकेपछिमात्र अर्को १० जनालाई प्रवेश गराउनु पर्ने, टिकट विक्री गर्ने बेलामा नै केवल एक जोडी वा समुह/परिवारलाई संग–संगै बस्ने दिने सक्ने, संगैको सिट खालि राखि टिकट विक्री गर्नु पर्ने उल्लेख छ ।

यसैगरी सिनेमा हलको प्रत्येक स्थानमा सरसफाइ गरी डिसइन्फेक्स्न गर्नु पर्ने तथा पूर्ण रुपमा सेनिटाइज गर्ने, गराउने व्यवस्था गर्नु पर्ने छ ।

१९ बुँदे संचालन तथा अनुगमन मापदण्डमा अनलाइनमार्फत टिकट विक्री गर्नुपर्ने, काउन्टरबाट विक्री गर्नुपर्दा तोकिएको भौतिक दुरी कायम गरी सोको अनिवार्य पालना गराउनुपर्ने उल्लेख छ । यस्तै, दर्शक तथा हलका कर्मचारी अनिवार्य रुपमा मास्क लगाएर मात्र हलमा प्रवेश गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।