ब्याण्डहरुबीच प्रतिस्पर्धात्मक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन’ हुने

नेपालमा पहिलो पटक सांगीतिक ब्याण्डहरुबीच प्रतिस्पर्धात्मक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन’ हुने भएको छ । शनिवार राजधानीमा एक कार्यक्रमका बीच यो शोको घोषणा गरियो ।

देशभित्र लुकेका प्रतिभावान सांगीतिक ब्याण्डहरुलाई अगाडि ल्याउने उद्देश्यसहित उक्त रियालिटी शो सुरु गर्न लागेको आयोजक संस्था ‘द लास्ट फ्राइड’ ले जानकारी दिएको छ । यो शोको निर्देशन रवि श्रेष्ठले गर्नेछन् । उक्त रियालिटी शो हिमालय टेलिभिजन एचडीमा आगामी वैशाख १५ गतेदेखि प्रशारणको तयारी गरिएको छ ।

नेपालको टेलिभिजन इतिहासमा पहिलो पटक यस्प्रकारको पृथक रियालिटी शो आयोजना हुन लागेका कारण यसले नेपालमा सबैभन्दा बढी चर्चा पाउने आयोजकको विश्वास छ ।  यस रियालिटी शोमा कसरी सहभागिता जनाउने भन्ने बारेमा आयोजकले चाँडै जानकारी गराउनेछ । नेपाली रक विधाका गीत संगीतमा दशकौंदेखि सक्रिय ड्रमर देव राना, गायक तथा गिटारिष्ट ज्योति घिमिरे र हार्ड रक विधाका गायक रवीन तामाङ ‘द ब्याण्ड च्याम्पियन’ को पहिलो सिजनको निर्णायकमा रहनेछन् ।

विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । उप विजेताहरुलाई पनि विभिन्न पुरस्कार प्रदान गरिने शोका निर्देशक श्रेष्ठले बताए ।