गायक पूर्ण लिम्बु जनसेवा श्री चतुर्थ पदकबाट सम्मानित

समाजसेवी गायकको उपनामले परिचित पूर्ण लिम्बु राष्ट्रिय स्तरबाट जनसेवा श्री चतुर्थ पदकबाट सम्मानित भएका छन् । २०७८ बैशाख १ गते राष्ट्रपति निवासमा एक कार्यक्रमका बीच पूर्ण लिम्बुलाई उक्त राष्ट्रिय पदकबाट सम्मानित गरिएको हो ।

पूर्ण लिम्बु ब्रिटिस गोर्खा सैनिकका भूतपूर्व क्याप्टेन तथा हाल ूगोर्खा वेलफेयर ट्रस्टू नेपाल पूर्वाञ्चल क्षेत्रका कार्यकारी निर्देशक हुन् । उनले २०७२ सालको नेपालको भूकम्पको संकटकालीन परिस्थितिमा अहोरात्र खटेर जनसमुदाय बिचमा सहयोग पुर्याउनुको साथै अन्य अनगिन्ती अदृश्य व्यक्तिगत सरसहयोग गरी उत्पीडित, पिछडिएका निमुखा, गरीब जनताहरुको मनोबल उच्च पार्न समेत सहयोग पुर्याउदै आईरहेका छन् ।

यस्तै अहिलेको विषम परिस्थिति कोभिड(१९ कोरोना भाईरसले गर्दा विश्व नै माहामारीबाट ग्रसित भएको अवस्थामा जनताको घरदैलोमा पुगी उचित राहत व्यवस्थापनको काममा समेत उनि निरन्तर लागिपरेका छन् । आफु आबद्ध संस्थाको मार्फत त काम भईरहेकै छ भने उनले आफ्नो व्यक्तिगत तर्फबाट पनि थुप्रै समाजसेवा मुलक काम गर्दै आईरहेका छन् ।

उनि आफैमा एक कुशल कलाकार तथा संगीत प्रेमी व्यक्ति हुन् । उनले थुप्रै गीतहरु बजारमा लिएर आईसकेका छन् जसले समाजमा नया आयाम थप्ने काम पनि गरेको छ । बेलायतको आरामदायी जीवन छोडेर आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने सोच बोकेर उनि डांडापाखामा कुदिरहेका छन् । दूरदराजमा रहेका गरिब र निमुखा जनताहरुको बीचमा पुगेर उनीहरुको समस्याहरुलाई समाधान गर्ने काम गरिरहेका छन् ।

उनको यहि मेहेनत र निस्वार्थ भावनाले गरेका समाजसेवालाई मुल्यांकन गर्दै नेपाल सरकारले उनलाई राष्ट्रिय पदकबाट सम्मानित गरेको हो । नेपाल सरकारले गरेको सम्मान आफ्नो लागि निकै ठुलो मुल्यवान रहेको र यसले आफुलाई अझ बढी काम गर्न हौसला मिलेको पूर्ण लिम्बुको भनाई रहेको छ । आगामी दिन अझ बढी ग्रामिण भेगमा पुगेर नेपाली गरिब, निमुखा जनताको साथमा रहेर हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् ।