शम्भुराज थापाको भेन्टिलेटरमा राखेर उपचार हुँदै

कोरोना संक्रमण पुष्टि भएका कलाकार शम्भुराज थापा ‘बखते’को ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ । थापाको स्वास्थ्यमा झन् जटिलता देखिएपछि मंगलबार साँझबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको कलाकार जीवन थापाले जानकारी दिए ।

उनका अनुसार १० दिन अघि अस्पताल भर्ना भएका थापाको मंगलबार दिनसम्म अवस्था सामान्य नै रहेको थियो । मंगलबार साँझबाट भने उनको श्वास प्रश्वासलगायतमा समस्या देखिएकोले उनलाई थप उपचारका लागि भेन्टिलेटरमा सारिएको हो ।

कलाकार थापा पछिल्लो समय हास्य सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका छन् । यो भन्दा अघि थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल तथा फिल्ममा अभिनय गरेका छन् ।