अनमोलका फिल्म घोषणा मात्रै

फेरि एक पटक अनमोल केसीको फिल्म नबने भएको छ । निर्माण टिमले औपचारिक घोषणा गरेको छैन तर अनमोलले खेल्ने भनेर खुबै हल्ला गरिएको फिल्म ‘एक्स नाइन’ लगभग नबने मोडमा पुगेको छ । फिल्मकै लागि भनेर जुँगा पालिरहेका अनमोल अचानक जुँगा काटेपछि यो फिल्म नबन्ने संकेत मिलेको हो ।

‘एक्स नाइन’ अनमोलले खेल्ने भनेर नबनेको पछिल्लो फिल्म हो । यसअघि उनले खेल्ने भनेर मिडियाबाजी भएका आधा दर्जन फिल्म बनेका छैनन् । यसमा सबैभन्दा धेरै आफ्नै होम प्रडक्सन सुपर काजल फिल्मस्का छन् ।
अनमोललाई लिएर उनकै पिता भुवन केसीले तीनवटा फिल्म बनाउने घोषणा गरेका छन् । तर यी फिल्म कहिले बन्छन्, स्वयं बाउछोरालाई नै अत्तोपत्तो छैन ।

अरु कुनै निर्माताको फिल्म नआउन्जुल उनीहरु ‘पारस’ कि ‘एन्टिहिरो’ भन्दै बस्छन् तर जब अरु निर्माता मोटो बिटो लिएर आउँछन् , न ‘पारस’को चिन्ता हुन्छ न ‘एन्टिहिरो’को । यही बीचमा उनीहरुले माइतीघर २ बनाउने भनेर यो नाम पनि दर्ता गराइसकेका छन् ।

पैसा लिएर पनि नखेलेका अनमोलका फिल्मको लिस्ट लामै हुन थालेको छ । जस्तो कि अनमोलले खेल्ने भनेर निर्माताको राम्रै रकम खर्च गराइदिएर ‘धुपौरे’ खेल्दिन भने । उनले क्षतिपूर्ति दिएर मात्र यसबाट छुटकारा पाए । यही अवस्था मिलन चाम्सको ‘ब्याचलर बन्टी’ पनि रह्यो । अनमोलले यो फिल्मको पनि साइनिङ अमाउन्ट फिर्ता गर्न परेको थियो ।

अनमोल करिअर अगाडि बढाउन चिन्तित छन् । करिअरकै चिन्ताले उनले आफूलाई सस्तो पनि बनाएका छैनन् । म्युजिक भिडियो खेल्दैनन्, सस्ता युट्युब अन्तर्वार्तामा देखिन्नन् । तर अरु धेरै कुरा नगरे पनि करिअर अगाडि बढाउन फिल्म त गर्नैपर्यो । तर उनले यस्ता फिल्म छान्ने गरेका छन् जुन बन्दै बन्न छाडेका छन् ।

धन्न ‘ए मेरो हजुर ४’ ढिलोचाँडो रिलिज हुँदैछ र उनको साख बच्नेवाला छ । नत्र भने अवस्था यस्तो होला जस्तो भइसक्यो, अनमोलका बनेका फिल्मको भन्दा बन्ने घोषणा भएर नबनेका फिल्मको लिस्ट लामो होस् ।