प्रियंका कार्की भन्छिन् – कसैले पीडित हुँ भन्दा उसैको चरित्रमाथि टिप्पणी उठाउने ?

अभिनेता पल शाह प्रकरणले यतीबेला सामाजिक सञ्जाल तातिरहेको छ । बलात्कारको आरोपमा शाह अहिले प्रहरीको न्यायिक हिरासतमा रहेका छन् ।

शाहविरुद्ध नाबालिग गायिकाले जबरजस्ती करणीको आरोपमा उजुरी दिएपछि उनले आफै आत्मसमर्पण गरेर तनहुँ पुगेका थिए । अब यस विषयमा थप्रै कलाकारहरु बोल्न थालेका छन् । अभिनेत्रीहरु रेखा थापा, ऋचा शर्मा, सञ्चिता लुइँटेल, लक्ष्मी बर्देवा, सुरक्षा पन्त लगायतले नाबालिगको पक्षमा खुलेर बोलेका छन् ।

यस्तैमा अभिनेत्री प्रियंका कार्कीले पनि पल शाह र नाबालिग गायिकाबीचको प्रकरणको विषयलाई लिएर टिप्पणी गरेकी छिन्।

प्रियंकाले कसैले म पीडित हुँ भन्दा उसकै चरित्रमाथि प्रश्न उठाउनु जिम्मेवार समाजको काम हुन नसक्ने बताएकी छन्। पल शाह प्रकरणको विषयलाई लिएर कार्कीले यस्तो टिप्पणी गरेकी हुन्।

कार्कीले सामाजिक सञ्जालमार्फत आफू बाँचेको समाजमा कसैले आफू पीडित भएको भन्न पनि हिम्मत चाहिने भएकाले आवाज उठाउने हरेक पीडितलाई कदर गर्नुपर्ने बताएकी छिन्। त्यस्तै, उनले नाबालिगले आफू पिडित भएको बताउँदा प्रश्न उठाउनु जिम्मेवार समाजको काम नहुने बताएकी छिन्।

कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘दुखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले “म पीडित हुँ” भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी-बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु।

नाबालिगको हकमा, मैले बुझे अनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरुको ‘निर्णय लिन सक्ने क्षमता’लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ। नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन।

बाँकी काम कानुनको, वहाँहरुलाई निश्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो।