आफ्नै ट्रोलमा रमाउँछन् अनमोल

फिल्म ‘होस्टेल’बाट रंगीन दुनियाँमा प्रवेश गरेका नायक अनमोल केसीले सुरुवातदेखि नै सामाजिक संजालमा ट्रोल खेपिरहेका छन् । अनमोललाई लिएर बन्ने ट्रोलमा उनको अभिनय, गेटअप, अनुहारको बनाबटले स्थान पाउँछ । यस्तै, उनले बेलाबखत मिडियासँग बोल्ने कुराकानीले पनि स्थान पाएको हुन्छ ।

तर, यो कुरामा अनमोल निराश हुनु भन्दा बढी रमाउँछन् । हालै मात्र उनी, आफ्नो अभिनय हेरेर आफै रुन मन लाग्छ भनेर दिएको अभिव्यक्तिका कारण ट्रोलरको निशानामा छन् । अनमोल भन्छन्–‘म आफै पनि गसिप, ट्रोलमा बढी रमाउँछु । हाम्रो फिल्म रिलिज नभएको बेलामा यस्तै कुराहरुले त हामीलाई दर्शकमाझ जोडिराख्छ ।’

अनमोल ट्रोलरसँग मात्र होइन, आफूलाई मन नपराउनेहरुसँग पनि गुनासो गर्दैनन् । बरु, मन नपराउनेहरुका कारण अझै काममा मिहिनेत गर्न मन लाग्ने उनको तर्क छ । भोलीबाट देशभरका हलमा रिलिज हुन लागेको अनमोल अभिनित फिल्म ‘ए मेरो हजुर ४’ चर्चामा छ । अनमोल फिल्मलाई दर्शकले रुचाउनेमा विश्वस्त छन् ।