एक रुपैयाँ नकमाएपनि मैले निरन्तर फिल्म बनाइरहेकी छुः शर्मिला पाण्डे

चलचित्र विकास बोर्डले आइतबार आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दिर्घ साधना सम्मान’मा निर्मात्री शर्मिला पाण्डेलाई विशेष योगदान सम्मान प्रदान गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट शर्मिलालाई विशेष योगदान सम्मान प्रदान गरिएपछि व्यापक आलोचना पनि भएको छ ।

फिल्म क्षेत्रमा लागेको केही बर्षमा नै शर्मिलालाई कुन आधारमा सम्मानित गरियो भन्ने प्रश्न उठाइएको छ । ‘लभ लभ लभ, आमा, चिसो मान्छे, परस्त्री’ लगायतका फिल्म बनाएकी शर्मिला यति छोटो समयमा नै कुन आधारमा सम्मानको हकदार हुन् भन्ने प्रश्न पनि उठाइएको छ ।

तर, शर्मिलाले भने आफूले प्राप्त गरेको सम्मानमा प्रश्न उठाइएको भन्दै दुःख व्यक्त गरिन् । उनले मेरो फिल्मसँग भनिन्–‘मैले यो क्षेत्रमा लागेर अहिलेसम्म एक रुपैयाँ पनि कमाएकी छैन । पैसा कमाउनका लागि मैले फिल्म बनाउन आवश्यक पनि छैन । तर, यो क्षेत्रका लागि केही न केही गरौं भन्ने सोचले फिल्म बनाइरहेकी छु ।’

यसैले, आफ्नो योगदानमाथि प्रश्न उठाउँदा आफू निराश भएको उनको भनाई छ । शर्मिलाले भनिन्–‘म व्यवसायबाट नै राम्रो कमाउँछु । छोराको फिल्म क्षेत्रप्रतिको चाहना पुरा गर्न म यहाँ आएकी हुँ । निरन्तर नाफा नभएपनि फिल्म बनाइरहेकी छु ।’

शर्मिलाले निर्माण गरेको फिल्म ‘चिसो मान्छे’ रिलिजको क्रममा छ भने ‘परस्त्री’ छायांकन भैरहेको छ । ‘परस्त्री’को रिलिज अगावै ‘आमा २’ बनाउने उनले जानकारी दिइन् ।