अनमोलको ग्याङस्टार अवतारमा ‘छड्के २’को फस्टलुक

नायक अनमोल केसीलाई विल्कुलै फरक गेटअपमा प्रस्तुत गर्दै फिल्म ‘छड्के २’को फस्टलुक सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको फस्टलुकमा अनमोलको ग्याङस्टार रुप देख्न सकिन्छ । अनमोल आक्रोशित अनुहारमा छन् । उनको हातमा कसैको रगत लतपतिएको तरबार छ । चुरोट तानेका छन् । छातीमा १९९४ लेखिएको छ । यसले पनि फिल्मप्रति दर्शकमा नयाँ उत्साह बढाएको छ ।

यो फिल्मको छायांकन चितवनमा भैरहेको छ । फिल्ममा रविन तामाङ्ग र कमलमणी नेपाल पनि छन् । नायिका अझै सार्वजनिक गरिएको छैन । फिल्मका लागि अनमोलले लामो समय वर्कशप पनि गरेका थिए । निर्भाना फिल्म स्कुलको प्रस्तुतिमा तयार भएको फिल्ममा निगम श्रेष्ठको लेखन तथा निर्देशन छ ।

प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेको फिल्मका निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले कार्यकारी निर्माता हुन् । अनमोलले फस्टलुक सार्वजनिक गर्दै पागलपनको सुरुवात भएको बताएका छन् ।