‘महापुरुष’का ‘बेमौसमी’ गीतमा २ पुस्ताको प्रेम

कार्तिकको ११ गतेबाट रिलिज हुन लागेको फिल्म ‘महापुरुष’मा समावेश ‘बेमौसमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आज काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मको दोश्रो गीत रिलिज गरिएको हो ।
षट्कोण आर्टस्को प्रस्तुतिमा तयार भएको फिल्मको यो गीतमा एसडी योगी र रेश्मा पुनको स्वर, एसडी योगीको संगीत, राम अबिरल बिष्टको शब्द छ ।

फिल्मको यो गीतमा मुख्य कलाकारहरु हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइलीले अभिनय गरेका छन् । भिडियोमा विवेक रसाइलीको निर्देशन, प्रमोद भण्डारीको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ ।

यो फिल्मको गीतले दुई पुस्ताविचको प्रेम कथालाई प्रस्तुत गरेको छ । फिल्ममा रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, सिरु बिष्ट, कोपिला थापा लगायतका कलाकारको अभिनय छ ।

यो फिल्मलाई प्रदीप भट्टराइले निर्देशन गरेका हुन् । प्रदीपकै लेखन रहेको फिल्ममा दीपेश खत्रीको लगानी छ । रविन्द्र सिंह बाँनियाँ कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।