सार्क फिल्म फेस्टिभलमा स्वस्तिमालाई ‘बेस्ट पर्फमेन्स अवार्ड’ (तस्बिर सहित)

सार्क फिल्म फेस्टिभलमा स्वस्तिमालाई बेस्ट पर्फमेन्स अवार्ड श्रीलंकाको कोलम्बोमा सोमबार सम्पन्न सार्क फिल्म फेस्टिभलमा स्वस्तिमा खड्काले ‘बुलबुल’बाट बेस्ट फर्मेमेन्ट अफ दि इयर अवार्ड प्राप्त गरेकी छिन् ।

कोलम्बामा रहेकी स्वस्तिमाले मेरो फिल्मसँग कुरा गर्दै समाचारको पुष्टि गरेकी छिन् । उनले अवार्ड पाउँदा देशलाई सम्झिएको बताइन् । ‘एक दमै प्राउड फिल गरिराछु । यो अवार्ड देशका लागि जितेको महसुस भइरहेको छ,’छोटो प्रतिक्रिया दिँदै स्वस्तिमाले भनिन् । स्वस्तिमाले जितेको पहिलो अवार्ड नै अन्तर्राष्ट्रिय भएको पनि बताइन् । ‘ मैले फिल्मबाट पाएको नै यो पहिलो अवार्ड हो । खुशी दोब्बर छ,’उनले भनिन् ।


सार्क फिल्म फेस्टिभलमा नेपालबाट बुलबुल र प्रसाद प्रतिस्पर्धी विधामा समावेश थिए । बिपिन कार्कीकै हरि अस्प्रतिस्पर्धी फिल्मको रुपमा फेस्टिभलमा सहभागी थिए । सार्क फिल्म फेस्टिभलमा यसअघि झोलाबाट गरिमाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । त्यसयता भने नेपालमा फेस्टिभलमा उल्लेख्य अवार्ड जित्न सकेको थिएन ।

बैदेशिक रोजगारीको समस्यालाई पृष्ठभूमिमा राखेर तयार भएको फिल्ममा स्वस्तिमाले रनकलाको रुपमा स्मरणीय अभिनय गरेकी थिइन् । बिनोद पौडलको लेखन तथा निर्देशन रहेको फिल्मले नेपालमा पनि उत्कृष्ट प्रतिक्रिया पाएको थियो । निर्देशक बिनोद पौडलले बुलबुलले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकोमा प्रशन्नता व्यक्त गरे । ‘हाम्रो टिमको मेहनत सफल भएको छ । फिल्ममा स्वस्तिमाले रनकलालाई जिवन्त बनाउन धेरै मेहनत गरेकी थिइन् । यो अवार्ड त्यो मेहनत कदर गरेको छ,’ पौडेलले भने । पौडेल हाल सोही फिल्मको प्रदर्शनको सिलसिलामा अमेरिकामा रहेका छन् ।