भुवन चन्दलाई फिल्मकर्मी कै असहयोग

नेपाल कै पहिलो महिला अभिनेत्री भुवन चन्दले फिल्म निर्माण गरिन् । साइनो नामक फिल्ममा उनले आफुले अभिनय मार्फत कमाएको सम्पूर्ण रकम खन्याईन् ।  यो खुसिको कुरा हो की नेपाली फिल्म खेलेर कमाएको सम्पूर्ण कमाई उनले अन्यत्र खर्च गर्नु भन्दा यही क्षेत्रमा लगानी गरिन् ।  एक किसिमले अलिकति पैसा कमिदैमा अन्यत्र लगानी गर्ने नेपाली कलाकारलाई यो पाठ पनि हो ।

उनले फिल्म ‘आमा’ मार्फत सन् १९६४मा पहिलो महिला अभिनेत्रीको रुपमा डेब्यु गरिन् । त्यो भन्दा अगाडीको समयमा फिल्ममा आवश्यक महिला कलाकार पुरुष कलाकार कै रुप परिवर्तन गरेर काम गराइने गरिन्थ्यो । महिलालाई फिल्म मात्रै नभएर यो क्षेत्रमा नै प्रवेस बन्देज जस्तै थियो । नाच्ने, गाउने, अभिनय गर्ने काम राम्रो परिवारको मान्छेले गर्ने काम होइन ।  अझ छोरी बिग्रिन्छन्, बिक्दैनन् (विवाह हुदैन), पोइला जान्छन् जस्ता आरोप लगाउने गर्थ्यो समाजले । त्यो अवस्थामा परिवार र समाज संगै बिद्रोह गरेर पछिल्लो जिन्दगी राम्रो होला नहोला केहि नसोची यो क्षेत्रमा हाम फाल्ने चन्दको साहस प्रसंसा योग्य छ ।  उनको यो हिम्मतका कारण नै अहिलेका नायिकाहरु पुरुषसंग बराबरको अभिनय गर्दै फिल्म नै लिड गर्न सफल भएका छन् ।  अहिलेको अवस्थामा सम्पूर्ण फिल्मकर्मी लगायत रास्ट्रले नै उनको योगदानको कदर गर्न जरुरी छ ।

मौलिक फिल्म ‘साइनो’ हाल प्रदर्शनको क्रममा रहेको छ । फिल्म अर्ग्यानिक बनेको भनेर दर्शकले प्रसंसा गरेका छन् । तर फिल्म जगतबाट जुन प्रकारको सहयोग र समर्थन हुन पर्ने त्यो देखिएन ।  मिडियाले पनि पर्याप्त मात्रामा साथ नदिएको अनुभव हुन्छ । कलाकारका केही अन्तर्वार्ता सार्वजनिक भए पनि मूल सर्जकको उपस्थिति न्युन रह्यो ।  ‘साइनो फिल्म’, फिल्म मात्रै नभएर एउटा इतिहास बोकेको व्यक्तिले बनाएको ऐतिहासिक फिल्म भन्ने बिषयले चर्चा कम पायो । भलै फिल्ममा केही कमिकमजोरी होलान् । तर बिर्सन नहुने कुरा ‘साइनो’ एक इतिहास बोकेको व्यक्तिले निर्माण गरेको फिल्म हो ।  र यस फिल्म र अभिनेत्री चन्दको कामलाई सम्पूर्ण नेपालीले ‘एप्रिसिएट’ गर्न जरुरी छ ।

यहि साउन २४बाट प्रदर्शनमा आएको फिल्म चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । फिल्म साइनोमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ । शरण थापा कार्यकारी निर्माता रहेको फिल्म साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । फिल्म साइनोलाई ब्यांकेटस् इन्टरटेनमेन्टले नेपाल वितरणको जिम्मा लिएको छ ।