‘जात्रै जात्रा’मा ट्याक्सी ड्राइभरको भूमिकामा विपिन

अभिनेता विपिन कार्की जात्रा सिक्वेल ‘जात्रै जात्रा’मा मुख्य भूमिकामा छन् । हरेक फिल्ममा फरक भूमिकामा देखिएका विपिनको यो फिल्ममा भूमिका कस्तो छ भन्ने चासोको विषय पक्कै हो । फिल्मको टिजर पनि सार्वजनिक भइसकेको छ । तर, टिजर हेरेर उनको भूमिका के कस्तो छ भन्ने अनुमान लगाउन निकै गाह्रो पर्छ ।

भर्खरै सुटिङ सुरु भएको फिल्मको सेटबाट केही तस्बिर बाहिरिएका छन् जसमा बिपिन ट्याक्सी ड्राइभरको ज्याकेट लगाएर बसेका छन् । चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जात्रै जात्रा सेटमा पुगेर फिल्मका मुख्य पात्र विपिनसँग खिचेको फोटो आफ्नो फेसबुकमा अपलोड गरेका छन् । उनले ‘जात्रै जात्राको सुटिङमा’ भनेर ३ वटा फोटो पोस्ट गरेका छन् जसमा पछिल्लो समय सरकारले ट्याक्सी ड्राइभरका लागि अनिवार्य गरेको ज्याकेट लगाएर बसेका छन् विपिन । हुन त सुटिङ यूनिटको पहिचानका लागि ज्याकेटको प्रयोग गरिएको पनि हुन सक्थ्यो तर फोटोको पछाडि देखिएका फिल्मका अन्य प्राविधिकहरुले उक्त ज्याकेट लगाएका छैनन् । त्यसैकारण पनि फिल्ममा विपिन ट्याक्सी ड्राइभरको भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ । फिल्ममा विपिन ट्याक्सी ड्राइभरको भूमिकामा प्रस्तुत भएका हुन् या होइनन् त्यो त फिल्मका अन्य सामाग्री सार्वजनिक भएपछी थाहा हुनेछ । तर ती फोटोहरु र वास्तविक ट्याक्सी ड्राइभरहरुको ज्याकेटलाई मध्यनजर गर्ने हो भने फिल्ममा विपिनको भूमिका ट्याक्सी ड्राइभर कै हो भन्ने ठम्याउन गाह्रो पर्दैन ।

‘जात्रा’, ‘शत्रु गते’ जस्ता सफल फिल्म निर्देशन गरेका प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘जात्रै जात्रा’मा विपिनसँगै बर्षा राउत, दयाहाङ राई, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा र कविन्द्र त्रिपाठीको अभिनय रहेको छ । फिल्ममा निर्माताको रुपमा सिंगे लामा र यादव पौडेल रहेका छन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन् । फिल्म फागुन १७ गते देखी प्रदर्शनमा आउनेछ ।