फिल्म प्राविधिकलाई दीपक राज गिरी र टिमको आर्थिक सहयोग

कलाकार दिपक राज गिरी र टिमले फिल्म प्राविधिकलाई सहयोग गर्ने भएका छन् । कोरोना भाइरसको कारण जीवनयापनमा समस्या आएर खाना कै समेत अभाव सिर्जना हुने अवस्थामा, गिरी र टिमले यो घोषणा गरेको हो । उनले एक लाख दस हजार सहयोग घोषणा गरेका हुन् । उनले बिशेषगरि  स्पट ब्वाई, लाइटम्यान र कुकहरुलाई प्राथमिकतामा राख्दै सामाजिक संजालमा एक पोष्ट सेयर गरेका छन् । साथै उनले अन्य फिल्मकर्मीलाई समेत सहयोगको अपिल गरेका छन् ।

मेरो फिल्मसंग कुरा गर्दै उनले बाहिर भन्दा पनि पहिला आफ्नै घर भित्र सहयोग गर्ने निर्णय गरेकोले प्राविधिकलाई सहयोग गरेको बताए । साथै सम्पूर्णले आफ्नै क्षेत्रका मजदुरको समस्यालाई मध्यनजर गरेर सहयोग गर्न उनले आग्रह पनि  गरे । भूकम्पको समयमाझैँ फिल्डमा गएर सहयोग गर्ने वातावरण नभएको भन्दै उनले आफु समेत सुरक्षित रहदै कुनै एक स्थानमा बोलाएर या आफैँ पुगेर सामाजिक दुरी तय गर्दै सामाग्री वितरण गर्ने बताए । स्वास्थ्यलाई लिएर आफु समेत संबेदनशील रहेकोले हेलचेक्र्याइँ कुनै पनि हालतमा नगर्ने उनले थपे ।

चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामाले दिपक राज गिरी आफैँले कुरा गरेर सहयोग गरेको बताउदै अन्य फिल्मकर्मीबाट समेत सहयोगको अपेक्षा राखेको बताए । उनले नगद भन्दा पनि खाद्यान्न वितरण गर्ने बताउदै संघको तर्फबाट दिपक राज गिरी र टिमलाई विशेष धन्यवाद ज्ञापन गरे।

यो पनि पढ्नुहोस् :

‘फिल्मकर्मीको आफ्नै कोष खडा गरौँ’ – चलचित्र प्राबिधिक संघ अध्यक्ष पुष्कर लामा