फिल्म ‘रे’ छायांकन अन्तिम चरणमा

 

फिल्म ‘रे’को छायांकन अन्तिम चरणमा पुगेको छ । मङ्सिर २८ देखी फ्लोरमा गएको फिल्मको लगभग ९५ प्रतिशत सुटिङ सकिएको निर्देशक दिनेश पौडेलले बताएका छन् । एक्सन लभ स्टोरी जनारामा निर्माण भएको फिल्मको हाल द्वन्दात्मक दृश्यहरुको सुटिङ चोभारमा भइरहेको छ ।

चोभारमा भइरहेको फिल्मको द्वन्द दृश्यहरुको निर्देशन द्वन्द निर्देशक दोय कुमार श्रेष्ठ र शंकर महर्जनले गरिरहेका छन् । उक्त दृश्यहरुमा सुनिल थापा, दिबस धिताल, सुजता थापा, क्रान्ति बराइली लगायतले अभिनय रहेको छ ।

काठमाडौँ उपत्यका भित्र हुने चर्चित ३ जात्राहरु ललितपुरको मछेन्द्र नारायण जात्रा, काठमाडौँको इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्राको वरिपरी यस फिल्मको कथा घुम्ने बताइएको छ । ‘यो अफ ट्रयाक फिल्म हो । फिल्ममा एक्सन र लभ स्टोरी समेटिएको भए पनि फिल्ममा ससपेन्स पार्ट धेरै छ । एक चोटी फिल्म हेर्ने दर्शकले पुन दोहोर्याएर हेर्नु हुनेछ’, निर्देशक पौडेलले भने ।

‘सगुन फिल्म प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको यस फिल्म लगभग सवा करोडको लगानीमा निर्माण हुने निर्माता राजेन्द्र त्रीपाठीले बताएका छन् ।

फिल्ममा सुनिल थापा, दिबस धिताल, सुजता थापा, क्रान्ति बराइलीसँगै अभि जोशी, रक्षा गुरागाई, पुर्णिमा लामा, बाल कलाकार शुशील थापा, सुरभ पराजुली, पुजा भट्टराई, जोबिका गौतम र अतिथि भूमिकामा किशोर खतिवडाको समेत अभिनय रहनेछ । फिल्म आगामी बर्षको तिजमा प्रदर्शन हुनेछ ।