गगन थापाले भने, ‘प्रनेशको पक्राउ दुर्भाग्यपूर्ण’

‘वीर बिक्रम २’ समीक्षा गरेकै कारण साइबर अपराधको मुद्धामा प्रहरी नियन्त्रणमा रहेका प्रनेश गौतमको पक्राउ अभिव्यक्ति स्वतन्त्रताको खिलाफ रहेको सांसद गगन थापाले बताएका छन् । उनले मंगलबार ट्वीट गर्दै समीक्षा गरेकै आधारमा नेपाल प्रहरीले प्रनेशलाई पक्रनु दुर्भाग्यपूर्ण रहेको पनि बताएका छन् । उनले लेखेका छन्, ‘एब्सर्डिस्ट ह्युमरलाई विश्वभर सामान्य रुपमा लिइन्छ । त्यस्तै शैलीमा सिनेमाको हस्यौली समीक्षा गरेकोमा प्रनेश गौतमलाई नेपाल प्रहरीद्धारा साइबर अपराधमा पक्राउ गरिनु दुर्भाग्यपूर्ण र अभिव्यक्ति स्वतन्त्रताको खिलाफ छ । आलोचनात्मक चेत लोकतन्त्रको मर्म हो, यसको संरक्षण गरियोस् ।’ फिल्म वीर बिक्रम २ को रिभ्यु गरेको आरोपमा केही दिन अघि प्रहरीले प्रनेश गौतमलाई पक्राउ गरेको थियो । प्रनेशको समीक्षाले आफ्नो १ करोड नोक्सान भएको भन्दै निर्देशक मिलन चाम्सले प्रनेश र समीक्षा प्रकाशित भएको युट्युब च्यानल मिम नेपालविरुद्ध मुद्धा हालेका थिए । प्रहरीले चाम्सकै निवेदनको आधारमा प्रनेशमाथि साइबर अपराधको मुद्धा लगाई थुनामा राख्दै आएको छ । प्रनेशको पक्राउलाई पत्रकार कनकमणि दिक्षितले अनर्थको पराकाष्ठा भएको बताएका छन् । उनले पनि सोमबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै ठट्यौली फिल्म रिभ्यूलाई साइबर अपराधको मुद्धा चलाएकोमा आश्चर्य व्यक्त गरेका छन् । उनले लेखेका छन् , ‘ के, यत्ति मज्जाको ठट्यौली फिल्म रिभ्यू गरेको भरमा मिम नेपालका प्रमेश गौतमलाई प्रहरीले साइबर अपराधको मुद्दा चलाउन लागेको हो ? त्यसो हो भने यो गलत मात्र होईन अनर्थको पराकाष्ट हो र हाम्रो सामाजिक यात्राको दिशाको संकेत पनि ।’ सोमबारै नागरिक दैनिकले पनि प्रनेशको पक्राउलाई प्रशासनिक अधिकारको दुरुपयोग भएको भन्दै समाचार लेखेको थियो । समाचारमा कानुनविद् बाबुराम अर्यालको भनाइ उद्धृत गर्दै लेखिएको छ, ‘ चलचित्रको समीक्षा गरेकै आधारमा पक्राउ गर्नु भनेको ‘प्रशासनिक अधिकारको दुरुपयोग’ भएको साइबर कानुनका ज्ञाता अधिवक्ता बाबुराम अर्यालले बताए । ‘यो प्रशासनिक अधिकारको दुरुपयोग हो,’ उनले नागरिकसँग भने, ‘चलचित्रको समीक्षा गर्दा न फौजदारी न देवानी दायित्व नै हुन्छ ।’ चलचित्रको समीक्षा गर्ने विभिन्न तरिका हुन्छन्, त्यसमध्येको एउटा तरिका उनले अपनाएको तर्क गर्दै अधिवक्ता अर्यालले भने, ‘कसैले व्यंग्यात्मक तरिका अपनाउन सक्छन् । यसका आआफ्नै मोडल हुन्छन् ।’ समाचारमा थप भनिएको छ, ‘यसैका आधारमा फौजदारी अभियोग लगाउँदै पक्राउ गर्ने हो भने चलचित्र समीक्षा भन्ने विधा नै रहँदैन,’ अर्यालले भने, ‘यसबाट विद्युतीय कारोबार ऐनको समेत उल्लंघन भएको छैन ।’ अर्यालका अनुसार विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार गौतमको समीक्षाले प्रचलित कानुनले रोकेका काम गरेको देखिएको छैन ।’ प्रहरीले भने भिडियोमा प्रयोग गरेका शब्दले कलाकारहरूको इज्जत प्रतिष्ठामा आँच पुर्याउने कार्य गरेकाले उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले मंगलबार अनुसन्धानका लागि भन्दै अदालतसमक्ष थप एक दिन माग गरेको थियो ।