नाटक लिएर जर्मन पुगेका कलाकार उतै फरार !

पोखरा-युथ क्रियसन थिएयटरका ४ जना कलाकार जर्मनमा लुकेका छन् । असार १८ गते ‘घेरो’ नाटक लिएर जर्मन पुगेका उनीहरु नाटक मञ्चन सकिएपछि सम्पर्कबिहीन बनेका हुन् । सम्पर्कबिहिन भएका कलाकारहरुमा शर्मिला बस्नेत, सम्झना शर्मा, संरचना पौडेल (अञ्जना) र मधुसूदन पौडेल रहेका छन् । कलाकार र व्यवस्थापक सहित १२ जनाको टीम जर्मन पुगेका थिए । तर, असार २३ गते ८ जनामात्रै फर्किए । ४ जना गायब भएपछि युथ क्रियसन थिएयटरलालाई मानव तस्कर गरेको आरोप लगाइयो । त्योसँगै कलाकार लुकेकोबारे थिएटरका सचिव सौगात पोखरेलले फेसबुकमा कमेन्ट गरेका छन् । उनले लेखेका छन्, ‘उनीहरु कार्यक्रम सकिएपछि विभिन्न बहानामा भागेका हुन् । उनीहरुलाई लुकाउन वा भगाउन हामीमध्ये कसैले सहयोग गरेको भए वा पैसा लेनदेन गरेको भए कारबाहीको भागेदारी हुन तयार छौं ।’ फरार भएका भनिएका एक कलाकार मधुसूदन पौडेलले आफू पोर्चुगल रहेको फेसबुक मार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘म अहिले पोर्चुगलमा छु । मलाई कुनै संस्थाले पैसा खाएर यहाँ ल्याएको होइन । आफ्नै राजीखुसीले आएको हुँ ।’ नेपाली टिम जर्मन सरकार मातहत प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको लोकसंगीत महोत्सवमा सहभागी हुन त्यहाँ पुगेको थियो । उनीहरुलाई एक साताको मात्र भिषा अनुमति थियो । महोत्सव जुलाई ५ र ६ मा सम्पन्न भइसकेको छ ।