कलंकको झुर प्रतिक्रियाको प्रभाव नेपालमा कति पर्ला ?

बुधबार भारतका ४ हजार पर्दामा रिलिज भएको बलिउड फिल्म कलंक नेपालमा रिलिज हुन पाएन । चलचित्र विकास बोर्डको  निर्णयका कारण यो फिल्म नेपाल ल्याएर राम्रै पैसा कुम्ल्याउला भन्ने सोचेका वितरक र केही हल संचालक तिलमिलाएका छन् । तर, भारतमा रिलिज भएपछि आएको प्रतिक्रियाले भने नेपाली वितरकलाई ठूलो रकम बचाउने अवसर भने मिलेको छ ।  नेपालमा शुक्रबारबाट रिलिज हुन्छ भनेर प्रचार गरिएको यो फिल्मलाई भारतका समिक्षकले झुर भनेका छन् । कतिले यसलाई निराशाजनक पनि भनेका छन् ।

भारतका चर्चित समिक्षक तथा ट्रेड एनालिस्ट तरण आर्दशले यसलाई निराशाजनक भनेका छन् । निराशाजनक भन्दै उनले दर्शकको अपेक्षा फिल्मले पुरा गर्न नसक्ने पनि लेखेका छन् । उनले यो फिल्मलाई २ रेटिङ दिएका छन् । लामो समय, कमजोर कथा, कमजोर संगीतका कारण फिल्म निराशाजनक भएको तरणले लेखेका छन् । तरणले फिल्मको क्लाइमेक्सलाई भने सह्राना गरेका छन् ।

तरणले मात्र होइन, भारतका थुप्रै समिक्षकले यो फिल्मलाइ निराशा बोकेको बताएका छन् । झुर फिल्म भन्दै यसले प्रतिक्रिया पाएपछि निर्माता करण जोहरको निद हराम भएको छ ।

कलंकलाई नेपालमा ल्याएर वितरकले अब करोडौको जोखिम मोल्छन् कि मोल्दैनन् भन्ने पनि बहस छ । किनकी, यति झुर प्रतिक्रिया आएपछि पनि फिल्म ल्याएर आफै डुब्न चाहने सोच वितरकको नहुन सक्छ ।
कलंकमा बरुण धवन, संजय दत्त, आदित्य रोय कपुर, आलिया भट्ट, सोनाक्षी सिन्हा, माधुरी दिक्षित लगायतका कलाकारको अभिनय छ ।