आफ्नै ‘मजाक’ मा रमाउदै मनोरन्जन क्षेत्र


विश्वमा सन्त्रासको रुपमा फैलिएको कोरोना भाइरसले नेपाली कलाकारलाई भने भाइरल हुने समय दिएको छ । पछिल्लो तीन महिना नियाल्दा कलाकारको एक अर्का बीचको खिचातानी देखी एउटा विषयमा हुने हप्तौ लामो बहसले दर्शकको फिल्म क्षेत्र प्रतिको सम्मान घट्दै गएको छ । त्यही माथि आगोमा घिउ थप्नका लागि छ्याप्छ्याप्ती प्रयोगमा रहेका सामाजिक संजाल र बेरोजगार प्रयोगकर्ताको त कुरै छोडौ । कुनै एक विषय बाहिर आउनु पर्छ, यसरी २ झुण्डमा विभाजित हुन्छन् कि मानौ देश टुक्रिनै लागेको छ र उनीहरु पक्ष र प्रतिपक्षमा छन् ।

फिल्म प्रदर्शन रोक्ने होडबाजी :
सुरुवाती चरणमा फिल्म प्रदर्शन रोक्ने होडबाजी चल्यो । मौन रहेका फिल्म निर्माताले एकै पटक फिल्म प्रदर्शन नगर्ने बिज्ञप्तिको गज्जबको प्रतियोगिता गरे । उक्त समय प्रदर्शनको मुखमा फिल्म म यस्त गीत गाउछु २, प्रेम गीत ३, चपली हाइट ३, हिजो आजका कुरा लगायत रहेका थिए ।

भिडियो सेयर र लाइभ :
लकडाउन सुरु हुना साथ ‘आफ्नो लागि समय पाएको’ भन्दै फिल्मकर्मी वर्कआउट, योगा र खाना बनाउने भिडियो सेयरमा ब्यस्त भए । सेयर गर्ने अधिकांस ब्यक्ति यस्ता थिए जसले वर्षको आधा समय त घर मै व्यतित गर्ने गर्थे । लाइभ आएर ‘म हजुरको फ्यान’ मा धन्यवाद र ‘मेरो नाम भन्दिनुस न’ को उत्तर दिदै बिताए । मानसिक स्वास्थ्यमा पर्न सक्ने र परेका असरको विषयमा कोहि पनि बोलेनन् । हुन त बोल्नलाई थोर बहुत ज्ञान पनि चाहिन्छ होला ।

राहत वितरण
अर्को चरणमा चल्यो राहत वितरण । ५ किलो चामल देखि घर अगाडीका ४वटा कुकुरलाई खुवाएको विषयले सामाजिक संजाल भरियो । लाग्थ्यो उनीहरु जतिको समाजसेवी कोही छैनन् दुनियामा । धन्न उनीहरु छन् र नेपाली भोकले मरेका छैनन् । दुखद विषय त लकडाउन लम्बिदै गर्दा जब साचैको राहत आवस्यक पर्ने समय आयो, उनीहरु कुन कुनामा छन् केहि पत्तो छैन । राहत बाढ्ने क्रममा गोजीका क्यामेरा र बुम समेत संगसंगै थिए । राहत  कै बेथिति भन्नु पर्छ ‘मागेर समाज सेवी बन्ने’ प्रक्रिया । लगानी गर्ने अर्कै छ, तर कलाकारले आफ्नो हात प्रयोग गरेर अनुहार क्यामेरामा देखाउदै आफुले नै छाक काटेर सहयोग गरेको भनेर देखाउन पछि परेनन् । भ्रम त दुनियामा फैलियो । तर मनलाई छल्न सके सकेनन्, उनैलाई थाहा होला ।

सिमा विवाद :
भारत र नेपालको सिमा विवादको क्रम यसरी बढेर आयो कि फिल्मकर्मी मुख खोल्न सुरु गरे । तर कतिको बुजेर बोल्दै थिए उनीहरुलाई नै थाहा होला । यो समय सिमामा नै गएर बिरोध गर्छु भन्ने कलाकार मध्ये धेरैले ‘काला पनी लिपूलेक र लिम्पियाधुरा’ शुद्ध उच्चाहरण गर्न जाने जानेनन्, उनीहरुका आफ्ना लाइभ र अन्तर्वार्ता दोहोर्याएर हेर्ने कस्ट गरेमा आफैँ थाहा पाउने छन् ।

नायिकाको सिमा विवादको सस्तो टिप्पणी:
एक नायिकाले लाइभ अन्तर्वार्तामा आएर ‘भारतीय साथी’ को विषयमा गरेको चिन्ताले करिव एक हप्ता सामाजिक संजाल र संचार माध्यम तात्यो । दुई गुठमा बाडीएको फिल्म जगतले कुनै निस्कर्ष निकाल्न सकेन । तर अन्तमा महिला हिंशा, मानसिक तनाब  र चरित्र हत्या भएको भन्दै सहानुभूति जाएर सकियो ।

नवराज विक हत्या प्रकरण :
अनि सुरु भयो नवराज विक हत्या प्रकरणको समर्थनमा पोष्ट गर्ने शृंखला । एक निर्माताले त गोजीको पैसा खर्च गरेर भए पनि न्याय दिलाउन तयार भएको देखि लिएर दलित जनजातीको साथ लिएर हतियार उठाउने सम्मको धम्की दिए । त्यहि समय नायिकाहरुको ‘शुन्य सहनशीलता’ को बहस पनि चलेको थियो तर उमेर नपुगेकी उही बिककी प्रेमिकाको विषयमा भने आखा पुगेन । सिधै ‘कस्टडी’ मा थुनिदा समेत महिला अधिकारकर्मी देखि ती अभियान थालक र संचालकको बोलि निस्किन सकेन । अन्तमा एक नायिकाले बोल्दा सामाजिक संजालमा उनलाई नै चारित्रिक प्रमाणपत्र बाड्न हतारियो पुरै सामाजिक संजाल । सिमाको बिषयमा बोल्दा चरित्र हत्या भएकी नायिकाको वकालत गर्ने कोहि पनि न त ती बालिकाको विषयमा बोले न त उनको समर्थनमा देखिएकी नायिकाको विषयमा ।  ‘डलर’ कता धेरै छ त्यतै हात र मुख चल्ने पनि स्पस्ट भयो । सोही हप्ता एक बालिकाले बलात्कारी संग वालविवाह गर्न बाध्य भइन् जसको उमेर जम्मा १३बर्ष थियो । अन्त्यमा उनले आत्महत्या गर्न बाध्य हुनु पर्यो । यो विषयमा चर्चा हुन सकेन । देशनै हातमा उचाल्छु भन्ने निर्मातालाई यो विषय थाहा भयो कि भएन पत्तै भएन ।

जुम अन्तर्वार्ता :
जुम अन्तर्वार्ताले पनि यो विषम परिस्थितिमा फिल्मकर्मीलाई मज्जैसंग मनोरन्जन प्रदान गर्यो । कलाकारलाई यति व्यस्तता बढ्यो की कतिको अन्तर्वार्ता कै क्रममा मोबाइल ह्यांग भयो भने कतिको डाटा सकिएर अन्तर्वार्ता विचैमा रोकियो ।

नेपोटिजम :
भारतीय अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याले भारतमा फिल्म क्षेत्रको विभेदको विषय उठान गर्यो । यसको सिधा असर नेपालमा पर्ने पक्का थियो । र भयो पनि त्यहि । ‘छ र छैन’ मै फिल्मकर्मी लामै समय ब्यस्त भए । निचोड निकाल्ने भन्दा पनि लाइमलाइट नछोड्ने मोहको लागि भएका अनावस्यक विवाद र तर्कले बौद्धिक भनिएका धेरै फिल्मकर्मीको स्तर दर्शकले देख्न पाए ।

कास्टिंग काउच :
बिषय बढ्दै गएर अहिले केही थान नायक नायिकाले आफुले भोग्नु परेको विवाद बारे बोल्दै छन् । दोष थुपारेर पन्छिन जान्ने कलाकार र पत्रकारको समूह भएको यो क्षेत्रमा मुख्य विषयबाट भडकिएर फेरी पनि त्यहि दुइ झुण्ड बनाउदै उनीहरु बीच विवाद बढेको छ ।

पत्रकार माथिको आरोप :
अन्तर्वार्ता सम्पादन गरेको, नगरेको, शिर्षक गलत राखेको लगायत विषय देखाउदै फिल्मकर्मी बिशेष गरेर कलाकारले पत्रकारलाई यो पुरै समय पनि दोष लगाउन पछि परेनन् । देशको भूगोलको विषयमा न्युनतम ज्ञान नभएकी नायिका देखि अरुको प्रगति सहन नसक्ने कलाकार हुदै पुराना अन्तर्वार्ताको ताण्डवको अन्त्य अधिकांश समय पत्रकारकै बिशेष छलफलले पार लगाईदियो । यसको लागि मुख्य हतियार ‘आसु’ पटक पटक प्रयोग भयो ।

समग्रमा हेर्दा फिल्म क्षेत्र मात्रै नभएर सम्पूर्ण कला क्षेत्रमा राम्रो प्रगति गर्न सक्ने समय उनीहरुले एक अर्काको ‘रिस’ गरेर, आफु जान्ने छु भन्ने दम्भ बोकेर र ‘मुतको न्यानो’ स्टारडम घोलेरै बिताए । एकाध छोडेर अधिकांस फिल्मकर्मीको वास्तविक अनुहार दर्शकले देख्ने राम्रो मौकाको रुपमा यो समय रह्यो । यसको प्रत्यक्ष र परोक्ष असर आगामी प्रदर्शन हुने फिल्ममा दर्शकले देखाउने पक्का छ । एउटा दर्शक भएको हैसियतले अझै पनि भ्रम नै सही, हामी नादान दर्शकलाई आफ्नो अस्तित्व नदेखाउन आग्रह । हैन भने करोडौ करोडको ‘लगानी’ बालुवामा पानी र ‘नाम’ समुन्द्री तटको बालुवाको घर नहोला भन्न सकिदैन ।
(सम्पूर्ण फिल्मकर्मी माथि आक्षेप लगाउने हाम्रो प्रयास भने कदापि होइन)