‘मेम नेपाल’ विरुद्ध मिलन चाम्सको उजुरी

फिल्म ‘बिर बिक्रम २’ को पिजी समिक्षा गरेको एक फेसबुक पेज बिरुद्ध फिल्म निर्माता तथा निर्देशक मिलन चाम्सले मुद्धा दर्ता गरेका छन् । फिल्मको बिषयमा अश्लिल शब्द प्रयोग गर्दै नकारात्मक समिक्षा गरेको भन्दै प्रणेश गौतमले निर्माण गरि ‘मेम नेपाल’ को अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भिडियो बिरुद्ध निर्माण टिमले कानुनी प्रक्रिया अगाडी बढाएको छ ।

महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गर्दै उक्त बिषयको जानकारी दिएको हो ।  पत्रकार सम्मेलनमा बोल्दै निर्माता तथा निर्देशक चाम्सले सामाजिक संजालको गलत प्रयोग फिल्म असफल पार्न गरेको भन्दै कुनै पनि हालतमा अभियुक्तलाइ छोड्न नहुने बताए । ‘मेम नेपाल’ सामाजिक संजाल प्रयोगकर्ता नेपाली युवा माझ लोकप्रिय फेसबुक पेज हो ।

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा अपर्ण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारीका अलवा, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘विर विक्रम २’मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ । फिल्म जेठ ३ बाट प्रदर्शनमा आएको हो ।