‘डकुमेन्ट्री’ भन्दै मोडलको बलिको तयारी

पुस ४ गते दिउँसो झापाकी एन्जिला (नाम परिवर्तन) हतार–हतार महानगरीय प्रहरी परिसर काठमाडौँ पुगिन् । एन्जिलाको अनुहारमा एकखालको डर झल्किन्थ्यो ।

एन्जिला परिसर पुग्दा काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी कार्यालयमै थिए । तर, व्यस्त । एसएसपी सुवेदीलाई पर्खेर बाहिर नै बसिरहिन् एन्जिला ।

३० मिनेट बाहिर बसेकी एन्जिलालाई एसएसपी सुवेदीले भित्र आउन भने । एन्जिलासँगै उनका भाइ पनि थिए । भित्र छिरेपछि एसएसपी सुवेदीले ‘तपाईंहरुको समस्या के हो ?’ भनेर प्रश्न गरे ।

‘मोडलिङमा लगाइदिन्छु भन्दै एउटा समूहले भारत–नेपाल बोर्डरमा लगेर सुटिङ गर्नुपर्ने भनेपछि शङ्का लागेर यहाँ आएको,’ एन्जिलाले आफ्नो समस्या पोखिन्, ‘मासु–रक्सी खान नहुने भन्छन् । पूजा लगाउनुपर्ने, पूजा लगाइसकेपछि लड्डु खानुपर्ने रे ! लड्डु खाएपछि पुरै बेहोस हुने । भारतमा लुकाएर राखिएको कालो धनहरु कहाँ–कहाँ छ सबै देख्छ । कालो धनलाई सेतो बनाएर नेपाल भित्र्याउने र सबैले मिलेर बाँड्ने रे ।’

एसएसपी सुवेदीले घटनाबारे थप खुलाउन भनेपछि एन्जिलाले घटनाबारे सविस्तार सुनाइन् ।

यसो भन्छिन् एन्जिलाः
एक हप्ताअघि (मंसिरको अन्तिम साता) काठमाडौँमा एक फेसनहाउस सञ्चालन गर्दै आएकी सीता (नाम परिवर्तन) ले फोन गर्नुभयो । फोनमा वहाँले एउटा प्रोजेक्टको लागि ६ फिट हाइट भएको मोडल चाहिएको छ, काम गर्ने हो भनेर सोध्नुभयो ।

मैले हुन्छ भने उहाँले कतै भेटेर कुरा गरौँ भन्नुभयो । मैले अफिसमै भेट्न आउनु भनेँ । सीता बानेश्वरस्थित मेरो अफिसमै आउनुभयो । सीतासँग अन्य ५ जना केटाहरु पनि थिए ।

एउटा प्रोजेक्टको क्रममा सीतालाई मैले ६ महिनाअघि चिनेको थिएँ । त्यतिबेला राम्रो काम भएको थियो । वहाँले फेरि पनि राम्रै काम दिनुहुन्छ भन्ने विश्वासले हुन्छ भनेकी थिएँ ।

सीतासँगै आएका एक युवकले हाइट कति छ भनेर सोधे । मैले ५ फिट १० इन्च भने । उनले ६ फिटकी चाहिएको थियो भने । पछि उनीहरुले भिडियो खिच्दै टेपले मेरो हाइट नापे ।

५ फिट ११ इन्च रहेछ । यत्तिको मान्छे त फिट हुन्छ भन्दै त्यहाँबाट हिँडे ।

एकजना केटाले मेरो फोन नम्बर माग्यो । मैले दिएँ । पछि कामको बारेमा त्यही केटासँग कुराकानी हुन्थ्यो । तर, केटाको नाम मलाई थाहा थिएन ।

बारम्बार प्रोजेक्टको लागि भनेर फोन गर्न थालेपछि ‘काम गर्ने हो भने एग्रिमेन्ट गरौँ’ भनेर भनेँ । तर, उनीहरुले एग्रिमेन्ट गर्न आनाकानी गरिरहे । कामको सबै फर्म्याट दिनु भनेँ । उनीहरुले त्यो पनि केही दिएनन् ।

गत बिहीबार राति घरमा खाना खाएर यत्तिकै बसिरहेको थिएँ । त्यो केटाले फोन ग-यो । मासु–रक्सी खान्छौँ कि खान्नौँ ? महिनावारी भएको छ कि छैन ?’ भनेर सोध्यो ।

मासु–रक्सी पनि खान्न, महिनावारी पनि भएको छैन भनेँ । तर, मलाई प्रश्न अनौठो लाग्यो । ‘यस्तो प्रश्न किन गर्नुभएको’ भनेर त्यो केटालाई सोधेँ ।

‘नेपाल–भारत बोर्डरतिर गएर पूजा गर्नुपर्छ । फेरि त्यस्तो छ भने हाम्रो कुल देवताले मान्नुहुन्न,’ केटाले जवाफ दियो ।

‘पहिले त पूजा गर्ने कुरा नै आएको थिएन’ भनेर सोध्दा त्यो केटाले ‘होइन यो सांस्कृतिक कार्यक्रम हो । डकुमेन्ट्री जस्तो बनाउँछु । अनि अर्को देशमा लगेर देखाउने हो । त्यहाँ भारतीय र कोरियाका मान्छेहरु पनि आउँछन् । राम्रो भयो भने तपाईंलाई नै फाइदा हो’ भनेर भन्यो ।

सुरुमा मलाई सबैजना नेपाली हुन्छन् । ३०–३५ जनाको ग्रुपमा काम गर्ने हो भनेका थिए । त्यो राति फोनमा फेरि ‘तिमी मात्रै एक्लै हो’ भन्यो । त्यसपछि मलाई शङ्का लाग्न थाल्यो ।

मैले फेरि फोन गर्न खोजेँ । तर, त्यसपछि त्यो केटाको फोन अफ भयो । शुक्रबार बिहानै फेरि त्यो केटा आफैले फोन गर्यो । ‘हामीलाई पनि यो कुरा पहिले थाहा थिएन । यसमा नराम्रो मान्नु पर्ने कुनै कुरा छैन बहिनी,’ भनेर सम्झाउन खोज्यो ।

कसरी थाहा हुँदैन ? एग्रिमेन्ट गर्छु भन्ने मान्छे ऊ, उसैलाई थाहा हुँदैन त ? मलाई शंका लाग्यो र अनि आज म त्यही भएर हजुर (एसएसपी सुवेदी) लाई भेट्न आएको हुँ ।

केही चिनेका ठूला मान्छेहरुसँग पनि परामर्श लिएँ । सबै कुराहरु बुझिरहेँ । बिहीबार चाहिँ अति नै भयो । सहनै नसक्ने भएँ । घरी के–के भनेको छ ।
बलि कि ‘ट्रान्स पार्टी’ ?
रक्सी–मासु नखाएको, महिनावारी नभएको र पूजा गर्नुपर्ने भनेपछि उक्त समूहले एन्जिलालाई कुल देवताको नाममा बलि दिन लैजान लागेको हुनसक्ने प्रहरीको अनुमान छ । एसएसपी सुवेदी भन्छन्, ‘एन्जिलालाई उक्त समूहले बलि दिनकै लागि सीमा क्षेत्रतिर लैजान खोजेको देखिन्छ । अर्को सम्भावना भनेको फकाएर विभिन्न देशबाट नेपाल आएका विदेशी नागरिकसहितको ‘ट्रान्स पार्टी’ मा लैजान लागिएको हुनसक्छ ।’ ट्रान्स पार्टी एउटा त्यस्तो वयश्क डान्स पार्टी हो जहाँ अनकन्टार ठाउँमा स्वदेशी र विदेशी नागरिकसहित युवतीहरुलाई लगेर कार्यक्रमको आयोजना गरिन्छ । त्यहाँ ड्रग्सको प्रयोग र यौनजन्य गतिविधिहरु हुने प्रहरीको भनाइ छ ।

तर, कुराकानीको विवरण र घटनाक्रम हेर्दा र त्यहाँ कुरा गरिएको ६ फिटको युवती चाहिने, महिनावरी भएको समय हुन नहुने, माछा–मासु खाएको नहुने र कुल पूजा तथा कुल देवता रिसाउने कुरा, पूजापछि लड्डु खानुपर्ने र त्यसपछि बेहोस हुने कुराले घटना बलि दिनकै लागि ‘डकुमेन्ट्रीको नाटक’ गरिएको हुनसक्ने आशंका प्रहरीको छ ।

बिराटनगरमा प्रहरीको अपरेसन
एन्जिलाको सबै कुरा सुनिसकेपछि एसएसपी सुवेदीले तत्कालै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न परिसरका प्रवक्ता होविन्द्र बोगटीलाई निर्देशन दिए । त्यसपछि महानगरीय प्रहरी परिसरका इन्सपेक्टर अनिल ठकुरीको कमाण्डमा ५ जना प्रहरीको टोली एन्जिलालाई साथमै लिएर मोरङतर्फ हिँड्यो ।

इन्सपेक्टर ठकुरीको टोलीले मोरङमा पूरै सर्च अपरेशन चलायो । तीन दिनको अथक प्रयासपछि इन्सपेक्टर ठकुरीको टोलीले घटनामा संलग्न ६ जनालाई विराटनगरबाट पक्राउ गरेर मङ्गलबार साँझ काठमाडौँ ल्याएको छ । यस्तै एकजना काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ परेकामध्ये २ जना युवती र ५ जना युवक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ७ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरिने प्रहरीको तयारी छ ।

एक वर्षअघि पनि झापामा युवतीलाई बलि दिनका लागि यस्तै नाटक रचिएको थियो । तर घटना हुन नपाउँदै जानकारी पाएको प्रहरीले घटनामा संलग्न रहेका ४ जनालाई तत्कालै पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । पछि उनीहरुले आफ्नो अपराधको योजना प्रहरीसमक्ष स्वीकार गरेपछि उनीहरु पुर्पक्षका लागि जेलमा छन् ।

रातोपाटीबाट साभार:
https://ratopati.com/story/111155/2019/12/25/crime-news?fbclid=IwAR39S0NVRWmF1N5xw34pnFAKvat9syimuRJ-5LeTH8wu5Hn39mOZMvn_NMk
https://ratopati.com/story/111155/2019/12/25/crime-news?fbclid=IwAR39S0NVRWmF1N5xw34pnFAKvat9syimuRJ-5LeTH8wu5Hn39mOZMvn_NMk