गीत चोरीको आरोपमा ‘कृ’ निर्माता सुवास गिरी पक्राउ, भुवन केसीलाई केहि थाहा छैन

‘कृ’ निर्माता सुबास गिरी पक्राउ परेका छन् । गीत चोरीको आरोपमा उनलाई प्रहरीले आवश्यक सोधपुछका लागि थुनामा राखेको प्रहरी प्रशासनले जानकारी गराएको छ ।

उनलाई फिल्म ‘सम्झना’ फिल्मका निर्माता तथा निर्देशक शम्भु प्रधानले गीत चोरीको आरोप लगाएका थिए । उनलाई मंगलबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंले सोधपुछका लागि भन्दै बोलाएको थियो ।
शम्भु प्रधानले केही समय अगाडि नैे आफ्नो फिल्मको गीत बिनाअनुमति प्रयोग गरेको भन्दै क्षतिपूर्तिका लागि परिसरमा निवेदन दिएका थिए । तर निर्मात गिरीले निवेदनको बेवास्ता गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । गिरीले निर्माण गरेको फिल्म ‘कृ’मा प्रधानले धेरै वर्षअगाडि निर्माण गरेको फिल्म ‘ उकालीमा पछि पछि ओरालीमा अघि अघि …’ बिना अनुमति प्रयोग गरिएको थियो । परिसरका एसएसपी बिश्व पोखरेलले गिरीलाई आवश्यक अनुसन्धानका लागि परिसर मै राखिएको पुष्टि गरे ।
‘गिरीले प्रतिलिपी अधिकार हनन गरेको उजुरी छ । सोही निवेदनका आधारमा उनलाई पक्राउ गरिएको हो । प्रतिलिपि अधिकार संरक्षण ऐनअनुसार मुद्दा अघि बढेको छ,’ उनले भने । प्रतिलिपि अधिकार ऐनअनुसार सुबास गिरी दोषी ठहर भए उनलाई ६ महिनासम्म कैद सजाय र मागअनुसार क्षतिपूर्ति र जरिवाना समेत हुनसक्छ ।

फिल्म अर्का निर्माता भुवन केसी पनि हुन् । यसमा रोचक के छ भने ‘सम्झना’को सो गीतमा भुवन केसीले नृत्य गरेका थिए भने सो गीतको नयाँ भर्सनमा उनकै छोरा अनमोल केसीले नृत्य गरेका छन् ।
गिरी पक्राउ परेको विषयमा भुवन केसीसँग जिज्ञासा राख्दा उनले यो विषयमा आफूलाई केही थाहा नभएको बताए ।
‘मैले पनि भर्खर थाहा पाउँदैछु , के भएको बुझ्ने क्रममा छु,’ केसीले भने । फिल्ममा निर्माताको रुपमा गिरी र केसी दुवैको नाम भए पनि चलचित्र विकास बोर्डमा गिरीको ब्यानरमा मात्र फिल्म दर्ता रहेकाले केसी विरुद्धको उजुरी भने प्रहरीले लिन मानेको थिएन । शम्भु प्रधानले यसअघि नै मिडियामा फिल्मको कमाइको आधा हिस्सा दिनुपर्ने वा कडाभन्दा कडा कानुनी सजाय हुनुपर्ने माग राखेका थिए ।
शम्भु प्रधानले मुद्दा फिर्ता लिएमा गिरीले चाँडै उन्मुक्ति पाउनेछन् नत्र भने प्रहरीले २५ दिनसम्म थुनामै राखेर मुद्दाको छिनोफानो गर्नेछ ।