इटालियन फिल्मकर्मी रिकार्डो बियान्को कथा खोज्दै नेपालमा, लकडाउनमा पोखरा अनुभब

इटालियन फिल्मकर्मी रिकार्डो बियान्को एक महिना भन्दा पहिले देखि पोखरामा छन् । उनले आफ्नो लकडाउन अनुभब सम्बन्धि एक भिडियो सार्बजनिक गरेका छन् र यतिबेला आफुलाई पोखरा संसारकै सबैभन्दा सुरक्षित ठाउँ लागेको बताएका छन् ।

उनि भन्छन् -“कथा खोज्ने क्रममा नेपाल आइपुगेको हुँ । अन्तिम समयमा काठमाडौँ छोडेर पोखरा आउन पाएकोमा आफुलाई भाग्यमानी ठानेको छु ।”

उनले भने – “मानिसहरु क्वारेन्टाइनमा छन् । तर स्वास्थ सेवा र यातायतमा खटिएकाहरु भने आफ्नो काम गरिरहेका छन्  । अनि, केही त्यस्ता पनि छन्, जसले महामारीलाई अझै सामान्य नै लिइरहेका छन्” ।लकडाउनपछि पहिलो हप्ता खानाको लागि मुस्किल भएको तर त्यसपछि सबै ठिक भएको उनले जानकारी दिए । अप्ठेरोमा परेकाहरुलाई निःशुल्क भोजन वितरण गर्ने गरिएको पनि उनले बताएका छन् ।

उनले भिडियोको अन्तिममा भनेका छन् – “यो अनौठो समयमा विश्वका अन्य मानिसझैँ म पनि हरेक दिन अनौठा परिवर्तनहरु नियालीरहेको छु । र प्रत्येक दिन प्रतिक्षा गरिरहेको छु” ।

उनी आफ्नो साथी म्याट सेलारान्डिस संग मिलेर ‘द टेल ब्रदर्स’ नामबाट फिल्महरु बनाइरहेका छन् । उनीहरुले सेप्टेम्बर २०१९ यता ६ महिनामा श्रीलंका घुमेर साना–ठूला वृत्तचित्रहरु बनाएका थिए । उनीहरुले श्रीलंकाको इस्टर सन्डे बमकाण्डमा घाइते भएर बाँचेका पीडितबारे वृत्तचित्र ‘द स्काई वाज ग्रे’ साथै श्रीलंकाको माझी समुदायकोबारे पनि वृत्तचित्र बनाएका थिए । म्याट सेलारान्डिस भने यतिबेला अमेरिकामा छन् ।